प्रहार समाचार । तनहुँ, १६ माघ २०८१ बुधवार । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताएका छन्।

राष्ट्रपति पौडेलले आज लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३, सेती पसलमा रहेको मंगला माध्यमिक विद्यालयक हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै गाँउ गाँउको माटोमा कृषि क्रान्ति गरी कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुशी पेशामा रुपान्तरण गरी कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रवन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग यहाँ ल्याउनुपर्ने बताए ।

राष्ट्रपतिले राजनीतिक परिवर्तन पछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्याान केन्द्रित हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको बताउँदै भने -‘राजनीतिक परिवर्तन पछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ । गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार हो । तर, आज म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिदैछन् त्यति त्यति गाउँ रित्तिदैछन् । शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या बढ्नुको साटो घट्दो छ । ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ । उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ । पछिल्लो समय गाउँबाट शहर र शहरबाट विदेशिने श्रृङ्खला अटुट छ ।’

राष्ट्रपती पौडेलले देश विकासको लागि कृषिलाई आधुनिकिकीकरण, व्यवसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता भएको चर्चा गर्दै भने – ‘हिमाल, पहाड र तराईको नेपालको हावा, पानी र माटो अनुपम छ । यसलाई उपयोग गरी मुलुकलाई आर्थिक विकासको क्षेत्रमा कायापलट गर्ने शिक्षा दिन जरुरी छ ।’

‘गाऊँबाट अस्थिर भएको मनलाई आधुनिक सेवा र सुविधा पुऱ्याएर गाऊँमा नै बसौं बसौं बनाउन म राजनीतिमा लागेको हुँ भनेर आफुले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर भनेको स्मरण गर्दै अगाडी भने -‘ त्यसपछि गाउँमा बिजुली, पानी, बाटो, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधासम्पन्न पूर्वाधार विकास गर्ने गरी ग्रामीण स्वालम्बनको कार्यक्रम शुरु गरियो । त्यसयताको अवधिलाई फर्केर हेर्दा गाउँमा आधारभूत सुविधाको प्रवन्ध पनि भयो । गाउँको जीवन फेरियो । उत्पादन बजारमा लैजाने अवस्था पनि बन्यो । तर, सुविधा पुगेर पनि आज गाउँ रित्तिने जुन दुःखद परिस्थिति देखापरिरहेछ यसलाई सामान्य रुपमा हेर्नुहुन्न । यही अवस्था विद्यमान रहनु मुलुकको लागि चिन्ताको विषय हो ।’

यता बाहुनपोखरा उता सूर्यपाल / टक्सार, अनि जीता सातधारे, बगुवा कुन्छा र रम्घा दुइपिप्ले बीचको उपत्यकामा बहने रीस्ती खोलाको साँधमा ६ दशक अघि विद्यालय स्थापना गरेर शिक्षाको ज्योति फैलाउने हाम्रा अग्रज धन्य छन् । यस क्षेत्रका अग्रजहरूको उत्साह र योगदानबाट स्थापित यो विद्यालयलाई अहिलेसम्म धानेर गण्डकी प्रदेशको नमूना विद्यालय बनाउने काममा जुट्ने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले आफू जन्मे हुर्किएको नेपालको मध्यभागमा अवस्थित यो सुरम्य रिस्ति उपत्यकामा उभिँदा म भावुक भएको बताउँदै बाहुनपोखराको एउटा किसानको छोरो आफ्नो लोकतान्त्रिक राजनीतिक निष्ठा, सिद्धान्त र आदर्शबाट कत्तिपनि बिचलित नभई जेलनेल, संघर्ष र यातनाको रत्तिभर पर्वाह नगरी आज जुन ठाउँमा पुगेको छु त्यसमा यही माटो, हावापानी र साथीसंगतको ठूलो योगदान भएको स्पष्ट पारे

त्यस अवसरमा राष्ट्रपति पौडेलले विद्यालयको हिरक स्तम्भ अनावरण, नवर्निर्मित क्याल्टिन तथा अडिटोरियल हलको उद्घाटन तथा हीरक स्मारिका लोकार्पण गरेका थिए ।


त्यस अबसमा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए । मुख्य मन्त्री पाण्डेले पछिल्लो समय देशमा केहि पनि भएन , देश सिद्धियो भन्ने नकारात्मक भाष्य सृजना गरिएको बताउँदै बिकास निमार्ण , शिक्षा, स्वास्थ्य तथा संचार क्षेत्रमा देशमा देखिने गरि सुधार भएको बताए ।
मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश नाथ पाण्डेले रोजगार मूलक शिक्षाको विकास नभएसम्म देशको विकास नहुने बताए ।

विद्यालयका प्रधानाध्याप बिष्णुहरि बास्तोलाले विद्यालयले हालसम्म गरेको संङ्घर्ष , उपलब्धि तथा भावि दिनमा गर्नुपर्ने योजना सहितको प्रतिवेदन पेश गर्दै सिङ्गो लमजुङ क्षेत्रको शैक्षिक धरोहरको रूपमा रहेको मंगला मा. वि. को साख युगौं युग सम्म रहिरहनु पर्ने बताए ।


हीरक जयन्ती मूल समारोह समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्व. काशिनाथ लम्साल मरणोपरान्त, संस्थापक प्रअ स्व. चिरञ्जिवी लम्साल मरणोपरान्त, कार्यालय सहयोगी स्व. केशरबहादुर पुरी मरणोपरान्त, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु स्व. विष्णुप्रसाद बगाले मरणोपरान्त, नारायणदत्त गौतम मरणोपरान्त लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालय हाताभित्र सरास्वतीको मन्दिर निर्माण गर्ने नेत्रबहादुर बस्नेत सहित बस्नेत परिवर लगायत विद्यालयका प्रभ विष्णुहरि बास्तोलालाई सम्मान गरिएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले पिटि प्रदर्शन गर्नुका साथै पञ्चकन्याको नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक उदयचन्द्र कंडेलले गरेका थिए ।




























