प्रहार समाचार । तनहुँ, २८ पुस २०८१ आइतवार ।’तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौली स्थित विपी वन वाटिकामा सञ्चालित ९औं तनहुँ महोत्सवको आज चौथो दिन पनि दर्शकहरुको भिड लागेको छ। दैनिक उपभोग्य वस्तु तथा अन्य सामाग्रीहरु सुपथ मूल्यमा किन्न तथा मनोरन्जन लिने दर्शकहरुको भिड लागेको हो ।

किसानको उत्पादनलाई बजारीकरणको लागि मद्धत पुगेको आयोजकको भनाइ छ। सहरी आसपास मात्रै नभई जिल्लाका दशवटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषि उपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइ दिएर सङ्घले किसानलाई मद्धत गरेको हो ।
सङ्घले पालिकासँग समन्वय गरेर निशुल्क ढुवानी र दमौलीमा बिक्रीको लागि निशुल्क स्टल उपलब्ध गराएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गतेबाट सुरु गरिएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा किसान तथा घरेलु हस्तकलाका सामग्री बिक्रीको लागि ४० वटा स्टल निशुल्क उपलब्ध सङ्घले सहयोग गरेको छ ।
महोत्सवमा कृषि र पर्यटनलाई पहिलो प्राथमिकताका साथ सो सङ्ख्यामा स्टल निशुल्क उपलब्ध गराईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको र किसानलाई निशुल्क स्टल उपलब्ध गराईएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले बताए । ‘उपभोत्तालाई सिधै बिक्रीको प्रबन्ध गरेर किसानलाई फाइदा हुने व्यवस्था मिलाएका हौं ।’- अध्यक्ष मिश्रले भने ।


महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवम् हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको महासचिव सुवोध अधिकारीले बताए ।

तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले दर्शक धेरै हुँदा बिक्री बढी हुने भएकोले विहान ११ बजे सम्म निशुल्क प्रवेशको व्यवस्था मिलाईएको बताए ।

सङ्घले महोत्सवको आयोजना गरेर निशुल्क स्टल उपलब्ध गराएकोले बिचौलीया मार्फत नभई सिधै बिक्री गर्न पाउँदा राम्रो मूल्य पाएको व्यास नगरपालिका –११ तनहुँसुरका सुन्तला कृषक केबी थापाले बताए ।
महोत्सवमा आफ्नो समान राम्रोसँग बिक्री भईरहेको र प्रचारप्रचारमा समेत टेवा पुगेको व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फमका सञ्चालीका कल्पना गौलीले बताइन् ।

यसै बिच महोत्सवमा राष्ट्रिय कलाकारहरुले दर्शक नचाएका छन् । महोत्सवकोे चौथो दिन आज गायक तथा गायिकाहरु सुप्रिम मल्ल, बाबुकृष्ण परियार, बबिता किराँती, सरिता सारुले दर्शकहरु नचाए ।

भोली लोक दोहोरी गायक बद्री पँगेनी, गायिका एलिना चौहान, मन्जु बिक र सुभद्रा श्रेष्ठ लगायतका कलाकारहरुको प्रस्तुति रहने कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिए ।

























