• शंकरराज नहर्की । प्रहार समाचार । तनहुँ, २७ पुस २०८१ शनिवार । तनहुँको ऋषिङ्ग गाउँपालीकाले आयोजना गरेको ‘चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन २०८१’ को उपाधि त्रिभूवन आर्मीको पोल्टामा परेको छ।
प्रतियोगितामा त्रिभूवन आर्मी क्लबका क्रमश होमलाल श्रेष्ठ, राजन मेथोडवा, र जुनेश खड्का प्रथम , द्धितीय र तृतीय भए सङ्गै उपाधि आर्मीको पोल्टामा परेको हो ।

४२.२ किलो मिटर दुरी रहेको अल्ट्रा म्यारथन प्रतियोगिता आज बिहान ऋषिङ गाउँपालिकाको प्रवेश द्वार वडा नं ८ को धारुङ देखि सुरु भई वडा नं ३ को दुबुङ भ्युटावरमा पुगेर समापन भएको थियो ।


प्रतियोगितामा ऋखुलाल सिंजाली मगर सान्त्वना भएका थिए । प्रथम हुने श्रेष्ठले नगद ६५ हजार, कप र मेडल तथा प्रमाण पत्र ,द्धितीय हुने मेयोङवाले नगद ४० हजार कप र मेडल तथा प्रमाण पत्र, तृतीय हुने खड्काले नगद २५ हजार कप र मेडल तथा प्रमाण पत्र र सान्त्वना सिंजाली मगरले नगद १० हजार कप र मेडल तथा प्रमाण पत्र प्राप्त गरे । यसै गरि स्थानिय धावक तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेहरु क्रमश : हेमकुमार थापा , बसुदेव थापा र बसन्त बर्देवालाई क्रमश नगद ५, ४ र ३ हजर सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जितप्रकाश आले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाई लगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए


यस अघि समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवं नेपाली कांग्रेस तनहुँका सभापति जित प्रकाश आलेले यस्ता प्रतियोगिताले प्रतियोगिहरुमा थप उत्साह र उमङ्ग थपिने बताउँदै पालिकाले कार्यक्रम आयोजना गरेर राम्रो काम गरेको बताए । पूर्व मन्त्री आलेले अबको कान्ति भनेको गाउँमै रोजगारीको सृजना गरि आर्थिक क्रान्ति गर्दै जनताको क्रयशक्ति वृद्धि गर्नुपर्ने बताए । उनले भने- ‘गाउँ गाउँमा बाटो, बिजुली, संञ्चार लगायतका विकास पुगेको छ , यसले खासै परिवर्तन देखिएन, जनता संङ्ग आय आर्जनका उपायहरुको खोजी गर्दै पालिका भित्रै रोजगारीका अवसरहरु सृजना गर्ने तर्क लाग्नु पऱ्यो ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले अबको क्रान्ति भनेकै आर्थिक क्रान्ति भएकाले गाउँमा उत्पादित बस्तु, कला , संस्कृति र परम्परालाई पर्यटन सङ्ग जोडेर आय आर्जन तर्फ पालिका लाग्नु पर्नेमा जोड दिए ।

व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठले ऋषिङ कला , संस्कृति , रितिरिवाज र परम्पराले धनि भएकाले यसलाई पर्यटन सङ्ग जोडदै सिङ्गो समृद्ध ऋषिङ बनाउने तर्फ सबै एक जुक भएर लाग्नु पर्ने सुझाए ।

कार्यक्रममा पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन यस्ता प्रतियोगिता कोशेढुङ्गा साबित हुने बताउँदै आफ्नो कार्यकाल भित्रै समृद्ध ऋषिङ बन्ने दाबी गरे ।

पालिकाका उपाध्यक्ष गिनुमाया थापाले स्वास्थ्यका लागि खेलकुदको ठूलो महत्व रहेकाले जिल्लाको तथा राष्ट्रकै ध्यान ऋषिङ्मा खिच्न पनि यस्तो प्रतियोगिता गर्दै आएको बताउँदै पर्यटन प्रवर्धनमा यसले सहयोग गर्ने बताइन्।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाई, नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति जित राज राना ,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा तनहुँका सभापति डा. कृष्णप्रसाद गौतम, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कंडेल, नेका तनहुँका सदस्य मोहन गिरी, शान्ति माविका प्रअ ऋषिराम रानाभाट, नेपाल शिक्षक संघ ऋषिङ गाउँम पालिकका अध्यक्ष केशर थापा, नेका ऋषिङ गापाका कार्यवाहक सभापति श्रीवहादुर आले, नेका जिल्ला सदस्य यमुना श्रेष्ठ ,वडा नं ४ का वडा अध्यक्ष प्रेम श्रेष्ठ, लगायतले रितिरिवाज, र परम्परालाई आय आर्जन सङ्ग जोड्न सके ऋषिङ को मुहार फेरिने बताए ।

कार्यक्रमा वडा नं ३ का नचरी समूहले पुरानो ‘नचरी’ नाच लगायत अन्य मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

वडा नं १ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक भिम बहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण पालिकाका प्रवक्ता विजय दरैले गरेका थिए ।


यसै बिच पालिकाको आयोजनामा तथा दमौलीमा रहेको रत्नहरि मेमोरियल अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य शिविर ऋषिङ दुबुङमा सम्पन्न भएको छ। शिविरमा १ सय ५० जना भन्दा बढि विरामीहरुको स्वास्थ्य परिक्षण गर निशुल्क औषधिहरु बितरण गरिएको अस्पतालले जनाएको छ।

























