प्रहार समाचार । तनहुँ,१४ पुस २०८१ आइतवार । आज स्वर्गीय राजा वीरेन्द्र विरविक्रम शाहको आज ८० औं जन्म जयन्ति अनौपचारिक रूपमा राजावादी समर्थकहरुले देश भर मनाउँदै छन्।

नेपालको शाह वंशीय राजाहरु मध्यका देश भक्त र जनप्रिय राजा का रूपमा लिइने उनले २०३१ फागुन १२ गते नेपाललाई शान्तिक्षेत्र घोषणा गरेका थिए । भारतबाहेक १ सय १६ राष्ट्रले सो घोषणाको स्वागत गरेका थिए । विश्वमा नेपाल र नेपालीको पहिचान र प्रतिष्ठा उँचो बनाउन राजा वीरेन्द्रको भूमिका महत्वपूर्ण रहेको विज्ञहरुको भनाई छ। उनमा राष्ट्रप्रेम र स्वाधीनता अनि आत्मगौरव पनि प्रशस्त रहेको मानिन्छ । राजा वीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो ।

उनको २०५८ साल जेष्ठ १९ गते (सन २००१ जुन १) करिब राति ९:०० बजे अकल्पनिय नारायणहिटी राजदरबारमा वंश विनाश हुनेगरेर हत्या भएको थियो । हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चायाको थियो। घटना पश्चात सार्वजनिक समाचारमा युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारे र त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको प्रचार गरियो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो।

राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो। देश शोकमा डुब्यो । जुन ४ तारिखका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए। नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्यो र त्यसलाई र्सार्वजनिक पनि गरियो।

प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निश्कर्ष निकालिएको थियो। यो कुरा आम नेपालीहरुमा पाच्य भने रहेन । राजा बिरेन्द्रको सम्झनामा उनको सालिकमा माल्यापण तथा स्मरण गरेर मनाईदै छ। २०४६ सालको पहिलो जनआन्दोलनपछि उनले दरबारका कट्टर राजावादीसहित आफ्नै परिवारको सल्लाह विपरीत राजाबाट संवैधानिक राजाका रूपमा आफ्नो शक्ति घटुवा गरेका थिए।
राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि बनाएका थिए । वीरेन्द्र शाहको वंश नै नाश हुने गरि भएको घटना रहस्यमय अनि कहालीलाग्दो रहन पुगेको विश्लेषकहरुको मत रहेको छ। उनको हत्याको वास्तविकता जान्न अझै नेपाली जनता आतुर छन् र बाहिर भनिएका हत्याका कारणमाथि विश्वास गर्न अझै नेपाली जनता तयार छैनन् ।
























