• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ ,७ पुस २०८१ आइतवार । लमजुङको राईनास नगरपालिका वडा नम्बर-६,धमिलिकुवा स्थित गौलीटार क्षेत्रिय खेलमैदानमा “चौथो राईनास कप खुला फुटबल प्रतियोगिता २०८१” आयोजना गरिने भएको छ ।
प्रतियोगिता यहि आगमी माघ १ गतेबाट हुने आज आयोजित पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले यस वर्ष हुने चौथो संस्करणको राइनास कपलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहेका व्यक्ति,संघसस्था र स्थानीय तहहरु बाट सहयोगको अपेक्षा गरिएको जानकारी दिए ।

अध्यक्ष चिलुवालले यस वर्षको प्रतियोगितालाई १२ टिममा सिमित गर्दै प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका गर्नका लागि १ सय १ सदस्यीय मुल आयोजक समिति र ९ वटा उपसमिति गठन गरि तयारी अघि बढाइएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि राइनास नगरपालिका वडा नम्बर-६,का वडाअध्यक्ष गोविन्द चिलुवालले नगरपालिकाको प्रयोजनमा प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको अवस्थामा खेलमैदानलाई व्यवस्थित बनाउने सम्वन्धमा यस वर्ष कुनै पनि निकायको ध्यान नजानु र्दुभाग्यपूर्ण भएको भन्दै गौलिटार क्षेत्रिय खेलमैदानलाई पालिकाको मात्र नभई जिल्ला र प्रदेश स्तरीय मैदान वनाउने सम्वन्धमा स्थानिय सरकार र प्रदेश सरकारको ध्यानार्कषण हुनु पर्नेमा जोड दिए ।

फुटबल प्रतियोगिताको प्रथम पुरस्कार नगद ३ लाख रुपैयाँ ,कप,मेडल र प्रमाणपत्र,द्धितिय पुरस्कार नगद १ लाख ५० हजार रुपैयाँ,कप मेडल र प्रमाणपत्र रहेको त्यस अबसमा जानकारी दिइएको थियो । त्यस्तै सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई नगद ४०/४० हजार रुपैयाँ र प्रमाणपत्रको व्यवस्था गरिएको निवर्तमान अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार- प्रतियोगिताका उत्कृष्ट गोल कीपर,सर्वोकृष्ट खेलाडी,सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी नगद १ हजार सहित मायाको चिनो प्रदान गरिने निवर्तमान अध्यक्ष श्रेष्ठले बताए।

राइनास कपको मुख्य प्रायोजक रहेको राइनास नगरपालिकाले प्रतियोगिताका लागि ८ लाख बजेट विनियोजन गरेको छ । “राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद” भन्ने मुल नाराका साथ गौलीटार क्षेत्रिय खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि यहि पुस २९ गते सम्म टिम दर्ता मिति राखीएको र फुटबल खेलको टिम दर्ता शुल्क १० हजार प्लस २ हजार गरि १२ हजार तोकिएको छ ।


पत्रकार भेटघाट कार्यक्रम समितिका पदाधिकारीहरु, निवर्तमान अध्यक्ष किरण श्रेष्ठ,सल्लाहकार र स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण गौलीटार क्षेत्रिय खेल मैदान समितिका सचिव प्रदिपजंग गुरुङले गरेका थिए ।
























