विचारसाहित्यप्रदेश

बाला चतुर्दशी पर्व र यसको बैदिक महत्व

मार्ग कृष्ण पक्ष चतुर्दशी तिथि, बाला चतुर्दशीको दिनलाई शतबिज छर्ने दिन भनिन्छ । विभिन्न तिर्थस्थलहरुमा शतबिज छर्न भनेर श्राद्धालु जम्मा हुने र अन्न भुईमा छर्ने गरेको पाइन्छ ।

शत भन्नाले शय र बिज भन्नाले अन्न अन्नादी, घाँस पातका बीउ भन्ने नै हो । यसै अर्थ अनुसार शतबिज छर्ने धेरै प्रकारका बीउ बिजन छर्ने भन्ने बुझिन्छ । परापूर्व (पौराणिक) काल देखिनै गृहस्थ जीवनमा गाईको महत्व बुझेर गाई पाल्ने, श्रद्धा गर्ने, गाईलाई प्रमुख सम्पती मानेर गौधन भन्ने गरिन्थ्यो । तात्कालीन समयमा जंगलमा छोडुवा गाई, ऋषिहरुले कुटिमा पालेका गाई, राजा महाराजाहरुले  शान शौखको लागि पालेका गाई र सामान्य गृहस्थहरुले पालेका गाई गरि पालनको हिसाबले चार प्रकारका गाई हुन्थे । गाईलाई खुवाउन अहिले जस्तो तयारी  दानाको प्रचलन थिएन । न त व्यावसायिक घाँस खेतीको चलन नै थियो । प्राय सबै जसो गाईलाई जंगल, खोला तथा नदीको तिर  वा खाली चौरमा चराएरै निर्वाह गरिन्थ्यो । धेरै हुल गाईहरु चर्दा चर्दा बर्खा याममा पलाएको घाँस सकिने हुँदा हिउँदमा घाँसको गर्जो टार्न गाउँका सबै मिलेर खाली चौर र जंगलमा विभिन्न अन्न, दलहन र घाँसजन्य बिउहरु छर्ने गर्न लागियो । एउटा निश्चित दिन, मार्ग कृष्ण चतुर्दशीमा स्थानीय बासिन्दा सबै जम्मा भई त्यस्तो बीउ छरेर गाईको खाद्धान्न आपूर्ती गर्ने परम्परा बस्यो ।  यसको  मुख्य उद्देश्य गाईको खुराक घाँस उम्रोस, चरन नमासियोस भन्ने नै हो । यस प्रचलनमा शिवजी मृग स्वरुपमा विचरण गर्नु भएको र मृग स्वरुप शिवजीलाई पाउन मृगलाई मन पर्ने घाँस उमार्न बीउ छरिएको र यसरी बीउ छर्दा शिवजी खुशी हुनुका साथै आफ्ना पित्रीहरु मुक्त हुने पौराणिक कथाहरु जोडिएको पाइन्छ ।

अहिले शतबिजका नाममा टाढा टाढाबाट मान्छे आई भिड्भाड बनाई गाई नभएका ठाउँमा पनि र सिमेन्ट लगाएका बाटाघाटामा, मन्दिर परिसरमा पनि जथाभावी अन्न फालेको देखिन्छ । यसरी फालेको अन्न कतिले जम्मा गरेर बेचेर दारु खाने गरेको, कतै स्थानीय समितीले बिक्री गरि मन्दिर कोषमा आम्दानी गर्ने गरेको र कतै कुहिएर बातवरण प्रदुषण गरेको पनि देखिएको छ । उद्देश्य के थियो तर भैरहेको के छ ? अहिले स्याहार नपाएका बुढा गाई, बाच्छाहरु र अन्य वेवारिसे गाईहरु सडकभरी यत्र तत्र देखिन्छन् । गौशाला स्थापना गरेर त्यस्ता पिडित गाईहरुलाई लालन पालन गर्ने केही प्रयास भए पनि आर्थिक अभावको कारणले राम्रो सेवा पाउन सकेका छैनन् ।

अब शतबिजको नाममा त्यसरी अन्न नोक्सान गर्न भन्दा ती बीउ (अन्न, नुन, घाँस, दाना) र सक्दो आर्थिक सहयोग गाईको वास्तविक आहारमा उपयोग हुने गरि गौशालामा दिने वा अनाथ गाईहरुले प्रत्यक्ष पाउने गरि गौ कोष खडा गर्नेहो भने गाईको कल्याण हुन्थ्यो । यस बारेमा सम्वन्धित श्रद्धालुहरु, हाम्रा धार्मिक अभियन्ता, कथा प्रवचक पण्डित गुरुहरुको ध्यान जाओस् । शतबिजको नाममा शतबिजकै आशय र मर्म अनुसारले हामीले धर्म संस्कृतिको पालना गर्ने गरौं । जय होस् , बाला चतुर्दशीको  हार्दिक शुभकामना ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button