प्रहार समाचार १६ असोज २०८१ बुधबार । तनहुँको भानु नगरपालिका स्थापना दिवसको अवसरमा आयोजित अन्तर विद्यालय नगरस्तरीय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज सम्पन्न भएको छ ।

भलिबल प्रतियोगितामा सेमीफाइनलबाट फाइनलमा प्रवेश गर्ने दुईवटा टिमहरु कर्मदा मावि भानु ९ पुर्कोट वाइजङ्घार र सरस्वती मन्दिर मावि भानु १२ घलेछाप रहेका थिए । फाइनल प्रवेश गर्नका लागि कर्मदा माविले मनोहर माविलाई र सरस्वती मन्दिर माविले अरनिको माविलाई सोझो सेटमा पराजित गरेका थिए । फाइनल खेल वेस्टअप फाइभमा खेलाइएकोमा शरूको २ सेट लगातार कर्मदा माविले र त्यसपछिको २ सेट लगातार सरस्वती मन्दिर माविले जितेको थियो र पाँचौं सेटमा पनि अत्यन्त प्रतिस्पर्धात्मक खेलमा सरस्वती मन्दिर माविले जित्न सफल भयो र कर्मदा मावि उपविजेता बन्यो ।

प्रतियोगितामा सरस्वती मन्दिर मावि भानु १२ घलेछाप प्रथम हुन सफल भयो भने कर्मदा मावि भानु ९ पुर्कोट बाइसजङ्घार द्वितीय हुन सफल भयो । प्रतियोगितामा अरनिको मावि भानु १३ मिर्लुङ् ठूलोढुङ्गा तृतीय र मनोहर मावि भानु ८ महन्तेहटिया सान्वना भएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वती मन्दिर मावि का शिक्षक खेलाडी अक्कल धामी भए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई क्रमश: नगद २० , १५ , १० र ५ हजार र प्रमाण-पत्र, मेडल, ट्रफी र विजेता विद्यालयलाई प्रमाण-पत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार र मेडल प्रदान गरिएको थियो ।

समापन सत्रमा नगर प्रमुख आनन्दराज त्रिपाठी, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, नगर खेलकुद विकास समितिका अध्यक्ष तुलकुमार गुरुङ र वडा नं ४ का वडाध्यक्ष अर्जुनबहादुर बोहराले संयुक्त रुपमा पुरस्कार , प्रमाण पत्र ,मेडल, ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रमको सहजिकरण शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले गरेकी थिइन् भने खेलकुद विकास समितिका अध्यक्ष तुलकुमार गुरुङले प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरेका थिए ।

























