प्रहार समाचार १६ असोज २०८१ बुधबार । सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँको आयोजनामा आज तनहुँ जिल्लामा रहेका सरकारवाला निकायहरूको सहभागितामा सडक दुर्घटना सम्बन्धी जिल्ला स्तरीय एकीकृत अभ्यास हातेमालो कार्यक्रम सम्पन्न भएको छ ।

भानु नगरपालिका वडा नम्बर १ , डुम्रे बेसिशहर सडक खण्ड अन्तर्गत भन्सार भन्दा थोरै तलको घुम्तीमा भएको उक्त सडक दुर्घटना सम्बन्धी जिल्लास्तरीय एकीकृत अभ्यास हातेमालो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पछिल्लो समय सडक दुर्घटना अत्याधिक बढिरहेको वर्तमान परिप्रेक्ष्यमा यस्ता सचेतनामूलक कार्यक्रम सहायक सिद्ध हुने बताए ।

प्रमुख जिल्ला अधिकारी गौतमले विभिन्न विपद तथा सवारी दुर्घटनामा नेपाल प्रहरी , सशस्त्र प्रहरी ,नेपाल आर्मी लगायतले उद्धारको कार्यमा ठूलो भूमिका निर्वाह गरी जनधनको सुरक्षा गरेको उल्लेख गरे ।
कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले हालै परेको अविरल वर्षाका कारण धेरै ठूलो धनजनको क्षति पुर्याएकोमा यस्ता उद्धारका कार्यले धेरैको ज्यान बचेको बताए । नगर प्रमुख त्रिपाठीले नेपालको भौगोलिक बनावट पनि जटिल रहेको , देशका प्रमुख राजमार्गहरु पनि नदीको किनारै किनार भएको हुनाले दुर्घटना भइहाले अकल्पनिय क्षति बेहोर्नु पर्ने चर्चा गरे ।

नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले सडक दुर्घटना न्यूनीकरण तथा उद्धार कार्यमा सुरक्षा निकायको भूमिकालाई स्पष्ट पारेको बताउँदै विपद व्यवस्थापन तथा उद्धार कार्य ज्यादै जोखिमपूर्ण कार्य भएकोले यसका लागि कला , कौशल र साहसको आवश्यकता पर्ने चर्चा गरे । गणपति अधिकारीले जस्तोसुकै चुनौती र अप्ठ्यारो परिस्थितिमा भएपनि विचलित नभई व्यावसायिक रुपमा कार्य गर्न पनि यस्ता एमुलेसन अभ्यास कोसे ढुंगा साबित हुने चर्चा गरे ।

कार्यक्रममा बेसीसहरबाट दमौली तर्फ आउँदै गरेको एउटा बस र डुम्रेबाट बेसीसर तर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको र तीनजनाको जीवितै उद्धार गरिएको सेमुलेसन अभ्यास देखाइएको थियो ।उक्त कार्यालय उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ , श्री रुरु क्षेत्र भैरवदल गण नेपाली सेना तनहुँ , जिल्ला प्रहरी कार्यालय तनहुँ ,जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।


























