प्रहार समाचार । तनहुँ , १५ असोज २०८१ मङ्गलबार । तनहुँको व्यास नगरपालिकाले जेष्ठ नागरिक परिचयपत्र तथा अपाङ्गता परिचयपत्र वितरणलाई तीव्रता दिएको छ।

पालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा १ सय ४२ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ। जस अन्तर्गत ७१ महिला र ७१ जना पुरुष रहेकाे महिला बालबालिका अपाङ्ग तथा जेष्ठ नागरिक उपशाखाकी प्रमुख राधा आचार्यले बताइन्।
यसैगरी नगरपालिकाले अपाङ्गता भएका ७९ जना व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ। जस अन्तर्र्गत ‘क’ वर्गका ११ , ‘ख’ वर्गका २७ ‘ग’ वर्गका २३ र ‘घ’ वर्गका ८ जनालाई परिचयपत्र वितरण गरेको शाखाकी प्रमुख आचार्यले बताइन्।
यसैगरी पालिकाले अपाङ्गता सहयोग कार्यक्रम अन्तर्गत अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष , सचिव र कार्यालयका शाखा प्रमुख सहित अपाङ्गता समन्वय समितिका पदाधिकारीहरूलाई उक्त तालिम प्रदान गरिएको महिला बालबालिका अपाङ्ग तथा जेष्ठ नागरिक उपशाखाले जनाएको छ। शाखाले अपाङ्गता भएका तथा दृष्टिविहीन व्यक्तिहरूलाई धुप बनाउने तालिम समेत प्रदान गरेको जनाएको छ।
























