प्रहार समाचार । तनहुँ १० असोज २०८१ बिहीबार । तनहुँको भानु नगरपालिकामा ८० प्रतिशत भन्दा बढि मासुपसल नियमविपरित सञ्चालन भएको पाइएको छ।

भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख सुशील ऐरीको नेतृत्वमा प्राबिधिक अमित ढुंगाना सहितको टोलीले मासुपसलहरुको अनुगमन गर्दा उक्त पासुपसलहरु नियम विपरित सञ्चालन गरिएको भेटिएको हो । ‘ मासुपसलहरुको अनुगमन गर्दा ८० प्रतिशत भन्दा बढि पसलहरु नगरपालिकाको नियम बिपरित सञ्चालनमा रहेको पाइयो । ‘- पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख सुशील ऐरीले भने ।
यसै बिच पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख सुशील ऐरीको नेतृत्वमा प्राबिधिक अमित ढुंगाना सहितको टोलीले पहिलो चरणमा नगरपालिकाका चन्द्रावती, टुहरेपसल, सेपाबगैचा, बाईसजागर, कालीमाटी लगायत स्थानमा सञ्चालित मासु पसलहरुमा अनुगमन गरेको छ।
चाडपर्व नजिकिएसँगै मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत पसल सञ्चालन गरेको पाइएकोले अनुगमन गरिएको पशुपंछी तथा मत्स्य विकास सेवा शाखाले जनाएको छ । अनुगमनको पहिलो चरणमा मासु पसलहरूमा
उपभोक्ता सचेतनाको अभावका कारण गुणस्तरमा बजारको असन्तुलन देखिएकोले पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख सुशील ऐरीले बताए ।
अनुगमनका क्रममा कतिपय पसलहरू दर्ता विनै सञ्चालनमा रहेका, मूल्य सूचि नभएको, सरसफाइ नभएको, खसिबोका, बाख्रा र कुखुराको मासु एकै ठाउँ फ्रिजिङ गरिएको लगायतका त्रुटीहरु पाइएको थियो । अनुगमनमा बोर्डसमेत नराखी खुला रुपमा मासु बेचेको, मासु फोहोर भएको, मूल्यसूची नराखिएको, कामदारले माक्स र एप्रोनको प्रयोग नगरेको, जालीको व्यवस्था नगरेको पाइएपछि टोलीले व्यवस्थित गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले चन्द्रावती देखि कालीमाटी सम्मका २५ पसलमा अनुगमन गरिएकामा १९ वटा बिना दर्ता सञ्चालन भएको पाइएको पशु सेवा प्राबिधिक अमित ढुंगानाले बताए।

























