प्रहार समाचार । तनहुँ ८ असोज २०८१ मङ्गलबार । ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुरको पर्यटन प्रबर्धन गर्न पालिकाले भिजिट बन्दीपुर -२०२५ घोषणा गर्ने सुरु गरेको छ ।

लहरै चिटिक्क परेका नेवारी परम्परागत घरहरु , मौलीक संस्कृति रितिरिवाज र परम्पराले धनि बन्दीपुरको सिङ्गो पर्यटन प्रबर्धन गर्न यहि .असोज ११ गते ( २०२५ सेप्टेम्वर २७ तारिख ) का दिन पर्यटन दिवसकाे अवसर पारेर विविध कार्यक्रम गरी मनाउन लागिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

‘सबै जातजातिका साँस्कृतिक कला साथै पर्यटनविद् ल्याएर बन्दीपुरको पर्यटनलाई उचाईमा पुऱ्याउने योजना छ’ गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले भने ।
‘प्रकृतिले दिएको अनुपम उपहारलाई देशबिदेशमा पुराएर पर्यटन प्रबद्र्धनका कार्यक्रम गरिनेछ ‘ अध्यक्ष थापाले थपे । पालिकाले “भिजिट बन्दीपुर २०२५ घोषणा गरी यसबर्ष बन्दीपुर घुम्ने भ्रमण बर्षको रुपमा विविध कार्यक्रम गरी बन्दीपुरको पर्यटनलाई आन्तरिक र बाह्य रुपमा संसारभरी प्रवद्र्धन गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ।
पालिकाको नेतृत्वमा बन्दीपुरको प्रचार प्रसारकालागि पर्यटकीय नगरी पोखारा, राजधानी काठमाण्डौं, धार्मिक तिर्थस्थल लुम्बिनी , विराटनगर , धरान लगायतका ठूला शहरमा प्रचारप्रसारका कार्य गरिने योजना पालिकाले बनाएको छ।
त्यसैगरी विभिन्न स्थानमा गएर पर्यटन प्रवद्र्धन गरिने माघ महिनामा बन्दीपुरमा अन्तराष्ट्रिय साइकल प्रतियोगिता राखिएको छ । संसारभरीका साइक्लिष्टहरुलाई बन्दीपुरमा जम्मा गरेर यहाँको पर्यटन क्षेत्रको विकास गरिने समेत पालिकाले उद्देश्य लिएको छ ।
अन्तराष्ट्रिय साइकल प्रतियोगिताको रूट समेत पालिकाले तय गरेको छ। जस अन्तरगत साइकल प्रतियोगिता बन्दीपुर टुरिष्ट प्रहरी बिटबाट सुरु भएर बाहुनभञ्ज्याङ, धरमपानी, सुकौरा, सेराटार, तामुङ बानियाटार हुदै पून बन्दीपुरमा आएर ५० मिटरको यात्रा टुङिग्ने पालिकाले जनाएको छ। यसका अतिरिक्त
साहसिक पर्यटक रकक्लाइमिङ,र्याफटीङ, प्रतियोगिता समेत आयोजना गरिने भएको पालिकाले जनाएको छ।

























