प्रहार समाचार । काठमाडौँ ४ भदौ २०८१ असोज शुक्रबार । सहकारी संस्थाको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कको आर्थिक कारोबार रवि लामिछानेले नै गर्ने गरेको निष्कर्ष निकालेको छ ।

विभिन्न सहकारीबाट प्रवाह भएको ६५ करोड रकम खर्च गर्ने काममा रविको संलग्नता रहेको समितिले निष्कर्ष निकालेको हो ।
लामिछानेले गोरखा मिडियाको आर्थिक कारोबारमा जीबी राईमात्र संलग्न रहेको बताउँदै आएका थिए ।
‘गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्र बाबु राई (जीबी) नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवि लामिछाने नै कारोबार गर्ने गरेको पाइएको छ,’ समितिको प्रतिवेदनको १९५ पेजमा भनिएको छ ।
समितिले लामिछानेको नाममा १७ लाख १६८ रुपैयाँ पेश्की फर्छ्यौट हुन बाँकी रहेको देखाएको छ । लामिछानेले गोरखा मिडिया नेटवर्कसँग आफ्नो कुनै दायित्व नरहेको दाबी गर्दै आएका थिए ।
समितिले सहकारी ठगीमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको छ ।
कारबाही सिफारिश गरिएका मध्ये एक छविलाल जोशीको बयानले पनि आर्थिक कारोबारमा रविको संलग्नता पुष्टि रहेको देखिएको छ । जोशीले ऋण खोज्न रविसँग नेपाल बैंक गएको बताएका छन् ।
गोरखा मिडियाबाट आर्थिक वर्ष २०७७/०७८ मा ब्याज बापत १ करोड ५५ लाख भुक्तानी भएको देखिन्छ ।
उक्त रकम कसलाई कुन ऋण बापत दिनुभएको हो भन्ने प्रश्नको जवाफमा जोशीले भनेका छन्– ‘कि प्रभुले जानून्, कि जीबी राई र रवि लामिछानेले जानून् । मलाई थाहा भएन ।’- लोकान्तर बाट
























