प्रहार समाचार । काठमाडौँ ३ असोज २०८१ विहिबार । । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन् ।

संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा विहिबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेल उक्त अपिल गरेका हुन् ।
“हामी संकल्प गरौ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।” – राष्ट्रपति पौडेलले भने ।
लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ भन्दै लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिनेमा जोड दिए ।
“संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तिब्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव तथा सर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेको थियो ।





















