प्रहार समाचार । बिराटनगर ३० भदौ २०८१ आइतवार । चाड बाड नजिकिंदै जाँदा जुवाडेहरु पक्राउ पर्ने क्रम बढि रहेको छ। पछिल्लो समय मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवा खेलेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गत निर्वाचनमा भने उनी पराजित भएका थिए ।

ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्वअध्यक्ष माझीसहित ९ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूको साथबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिवार राति उनीहरूलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जुवाडेहरूलाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।
पक्राउ पर्नेहरूमा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनककुमार माझी, महोत्तरीका ४५ वर्षीय महेश साह, ग्रामथान ४ का अहिलाल माझी, धरान १५ का युवक राई, दमक १० का ऋतुवर्ण नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहरैँचा ३ का प्रताप राई रहेका छन् ।
पक्राउ परेका ‘जुवाडे’हरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरूमाथि आइतवार जुवा ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान शुरू गर्ने तयारी प्रहरीले गरेको छ






















