प्रहार समाचार । तनहुँ २९ भदौ २०८१ शनिवार । राष्ट्रिय सडक सुरक्षा परिषदले तनहुँको व्यास नगरपालिकाका शिक्षकहरुलाई सडक सुरक्षा सम्बन्धि सचेतना सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।

नगर पालिका भित्र अधारभूत र माध्यामिक तहमा सामाजिक विषय पढाउने शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको हो। तालिम व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो । प्रशिक्षण लिएका शिक्षक मार्फत विद्यालयका विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धि ज्ञान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरिएको परिषदले जनाएको छ ।

कार्यक्रममा हेमन तिवारी र विवेक गुप्ताले प्रशिक्षण दिएका थिए । सडक दुर्घटना रोक्न सार्वजनिक सडक तथा सडकवरपर सवारीसाधन राख्ने, जनावर छोड्ने, अवरोध आउने संरचना जस्तै ब्यानर, डिस्प्ले बोर्ड, होर्डिङ बोर्ड, टेन्ट, प्ल्याटफर्म, रोस्टम, सालिक बनाउने कार्यको रोकथाम गर्न आवश्यक रहेको सो कार्यक्रममा जानकारी दिईएको थियो । जनानवर तथा सवारीसाधनको आवगमन रोक्न, सडकको छेउछाउमा भएको रूख, स्ट्रक्चर, घरहरूको निर्माण रोक्न, सार्वजनिक सडकको छेउबाट घरभित्र जाने र निस्कने व्यवस्था गर्नु पर्ने बताईएको थियो ।
सडक दुर्घटनाको उद्धार तथा उपचारका लागि संघ, प्रदेश तथा स्थानीय सडकमा उपयुक्त दूरीको अन्तरमा सडक एम्बुलेन्स सेवा र स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न र प्रत्येक प्रदेशमा आवश्यकता अनुसार राष्ट्रिय लोकमार्गमा पर्ने सहरी क्षेत्रमा आधुनिक ट्रमा सेन्टरको स्थापना गर्नु जरुरी रहेको बताईएको थियो ।






















