प्रहार समाचार । तनहुँ २४ भदौ २०८१ सोमवार । तनहुँको सदरमुकाम दमौलीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विगत लामो समयदेखि सञ्चालक समिति बिहिन हुन पुगेको छ ।

सञ्चालक समिति विहिन हुँदा केन्द्रलाई खर्च व्यवस्थापन तथा विरामीहरुलाई नयाँ सेवा विस्तारमा ठूलो समस्या परेको केन्द्रले जनाएको छ। देवीबहादुर बस्नेतको म्याद सकिएपछि नयाँ व्यवस्थापन समिति विगत १५ महिनादेखि गठन नहुँदा अस्पतालले प्रदान गर्ने थप सेवा र सुविधामा समस्या उत्पन्न हुन पुगेको हो।
‘हामीले पटकपटक मन्त्रालयमा ताकेता गरिरहेका छौँ, हाल सम्म सुनुवाई नै भएको छैन् । जस्का कारण केन्द्रमा जम्मा भएको टिकट, छारसुत्र, कर्म पञ्चकर्म / पूर्ण कर्म, प्रयोगशाला लगायतको आम्दानीको पैसाबाट नयाँ काम गर्न तथा खर्च व्यवस्थापन गर्न समस्या परेको छ’ । – आयुर्वेदिक चिकित्सक डाक्टर किरणचन्द्र पौडेलले भने।
उता केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईं गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पोखराले अध्यक्ष नियुक्त गर्न विलम्ब गरेकोले केन्द्रमा खर्च व्यवस्थापन तथा बिरामीका लागि थप सेवा र सुविधा विस्तारमा धेरै जटिलता उत्पन्न भएको प्रहार समाचारलाई बताए ।
यस सम्बन्धमा पोखरामा रहेको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डाक्टर रमेशकुमार जोशीसँग प्रहार समाचारले जिज्ञासा राख्दा डाक्टर केसीले यो राजनीतिक नियुक्ति भएको बताए । उनले गठन आदेश पुरानो भएकाले नयाँ गठन आदेश तयार भएर स्वास्थ्य मन्त्रालयमा पुगिसकेको बताउँदै मन्त्रालयबाट नीतिगत निर्णय हुन ढिलाई हुन पुगेको जनाए । महाशाखाका प्रमुख केसी भन्छन् – ‘ प्रदेशका स्वास्थ्य मन्त्री पटक पटक परिवर्तन हुनु पनि अर्को समस्या हो ‘ । ‘मन्त्रालय बाट नीतिगत निर्णय हुने बित्तिकै यो काम अगाडी बढ्छ ‘ उनले भने ।
यस्तो भएपछि दमौलीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले कहिले नयाँ व्यवस्थापन समिति पाउने हो अझै पनि कुनै टुंगो लाग्न सकेको छैन्।

























