प्रहार समाचार । तनहुँ २१ भदौ २०८१ शनिवार । आज गणेश चतुर्थी पर्व हो । यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनागरी मनाईन्छ ।

मङ्गल चतुर्थीसमेत नामले यो पर्वलाई चिनिन्छ । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइने गरिन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ ।
यस अवसरमा आज तनहुँको सदरमुकाम दमौलीमा रहेको शिव पाञ्चायन मन्दिर , पराशर आश्रम , व्यास ११ को मनकामना आश्रम तथा अन्य स्थानका गणेश मन्दिरहरुका अतिरिक्त उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायतका गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। यस पर्वलाई नेवार समुदायले चाँहि ‘चथा ‘ नाममा मनाउँछन् । आजकै दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहिआएको छ।

























