प्रहार समाचार । तनहुँ १४ भदौ २०८१ शुक्रवार । २००७ सालको क्रान्तिमा सामेल भई २०१४ सालको भद्र अवज्ञा आन्दोलन तथा २०१५ सालको चुनावमा सक्रिय सहभागी जनाएका प्रजातन्त्रका सेनानी तारापति भट्टराईको योगदानको बारेमा आज तनहुँको सदरमुकाम दमौलीमा चर्चा परिचर्चा गरियो।

२०१७ सालको ‘कु’ मा स्याङ्जामा गिरफ्तार परि केही समय जेल जीवन बिताएका भट्टराईले त्यसपछि पञ्चायतमा बसेर प्रजातन्त्रका लागि लड्ने सुवर्णसमशेरको नीति अनुरुप पञ्चायती निर्वाचनमा समेत सामेल भएका थिए ।
२०१८ सालमा साविक राईपुर गाउँ पञ्चायत हालको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ११ को प्रधानपञ्चमा निर्वाचित भई २०२० साल वैशाखमा जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भएपछि पहिलो जिल्ला सभा बैठकमा सदरमुकाम बन्दीपुरबाट दमौली सार्न जिल्ला सभामा प्रस्ताव पेश गर्ने व्यक्ति भट्टराई नै थिए ।

भट्टराईले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा मार्फत राजा महेन्द्रमा पेश गरेपछि राजा महेन्द्रकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सहित राजपत्रमा बन्दीपुरबाट दमौलीमा सदरमुकाम सार्ने निर्णय प्रकाशित भएको थियो। भट्टराईको २०६१ सालमा निधन भएको थियो।
उनै प्रजातन्त्रका योद्धा भट्टराईको स्मृतिमा २०८० सालमा तारापति भट्टराई स्मृति प्रतिष्ठान गठन भएपछि प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभाका अवसरमा दमौलीमा उनलाई सम्झिएको हो।

बन्दिपुरबाट सदरमुकाम दमौली सार्ने क्रममा निर्मल राणाभाटको मृत्यु हुन गई असहज परिस्थिति उत्पन्न हुँदा आफन्तले लास बुझ्न माग गरेको, लास दिँदा परिस्थिति अझै भड्कन सक्ने अवस्था भएकोले सुरक्षाका लागि तारापति भट्टराई संङ्गै थुनामा परेका संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले तारापति भट्टराई प्रजानन्त्रका मियो रहेको बताए ।


कार्यक्रममा गण्डकी प्रदेशका ,सांसद अशोककुमार श्रेष्ठ , जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, गण्डकी प्रदेशका पूर्व मन्त्री डोवाटे वि क , नेका तनहुँका उपसभापति देवकुमार श्रेष्ठ , शेषमणि आचार्य लगायतले बहुदली व्यवस्थाका धरोहर भट्टराई निश्वार्थ जनताको सेवामा जुट्ने शालिन व्यक्तित्व रहेको चर्चा गरे।
प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईको सभापतिबमा सम्पन्न उक्त कायक्रमको सहजिकरण सचिव पर्शुराम भण्डारीले गरेका थिए। त्यस अवसरमा बन्दिपुरमा शाहित भएका निर्मल रानाभाटका दाजु प्रेम बहादुर रानाभाटलाई सम्मान गरिएको थियो।

























