तनहुँ । १४ भदौ २०८१ शुक्रबार। तनहुँको देवघाट गाउँपालिकाका प्राय सबै वडाहरुमा यतिबेला बाँदरले आतङ्क मच्चाएको छ । चितवनको आँपटारी हुँदै त्रिशुली नदीको पुल तरेर पवित्र देवघाट धाम जाँदै गरेका भक्तजनहरूलाई समेत बाँदरले छोडेको छैन् ।
तस्विर : प्रहार अनलाईन मिडिया

देवघाट स्नान गर्न जाँदै गरेकी भरतपुर महानगरपालिका निवासी ६८ वर्षीय राधादेवी पाण्डेले हातमा झुण्ड्याएको झोला समेत बाँदरले खोसेर लगेको बताइन्। पुरुषका तुलनामा महिलालाई बाँदरले झन बढि नै झम्टन खोज्ने हरिहर सन्न्यास आश्रमका गौसंरक्षक ऋषिराम भूषालले बताए । ‘ हातमा लामो लौरो नलिई हिड्नै हुँदैन बाँदरले झम्टिहाल्छ ‘ – भूषालले भने। घरको बरन्डा, कौशी, छानामा चढेर छ हामफाल्दै बाँदरले आतङ्क मच्याएको भूषालले थपे ।

किसानले खेत बारीमा लगाएका अन्न बालिहरु प्रत्येक वर्ष बाँदरले सत्यानास पार्ने गरेको र बाँदर नियन्त्रण गर्ने नसकिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । ‘बाँदरले सिङ्गो पालिकामान नै आतङ्क मच्चाएको छ । उपाय केहि भेटिएको छैन, हामी आजीत भएका छौँ’ अध्यक्ष थापाले भने । बन ऐन, नियम र कानुनले बाँदर नियन्त्रणमा समस्या उत्पन्न गराएको अध्यक्ष थापाको भनाई छ।
मकै, केरा , अमिलो जातका फलफूल समेत बाँदरले सत्यानास पार्ने गरेको कृषकहरुको भनाई रहेको छ।
अहिले देवघाट धाम आसपासका घर, पसल , मन्दिर , आश्रमको भित्र भित्र सम्म पनि पुगेर बाँदरले अतिनै दुःख दिनेगरेको इन्दिरा सन्न्यास आश्रमकी पिठाधिस ईश्वरानन्द सरस्वती माताले बताईन् । ‘एक जना लौरो लिएर बाँदर लखेट्न गोठालो बस्नु पर्छ ‘ माताले बताइन् । अहिले देवघाटमा बाँदरले अति नै दुःख दिन थालेपछि पुरै घर , पसल, मन्दिर , आश्रम तथा कुटिहरुलाई तारको जालीले घेर्ने गरिएको स्थानिय बताउँछन्। देवघाटमा बाँदर नियन्त्रण गर्ने उपाय अहिले सम्म भेटिएको छैन् ।

























