प्रहार समाचार । पोखरा १३ भदौ २०८१ बिहीवार । नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने रङ्ग राइलो गर्ने नेपाली परम्परा हो। पर्व मनाउने क्रममा हिंजो आज तिज पर्व आउनु एक महिना अगाडीदेखि नै विभिन्न पार्टी प्यालेसमा लाखौं खर्च गरेर दर खाने विकृति दिन प्रतिदिन बढिरहेको छ। यसै प्रसङ्गमा पोखराको एउटा आमा समूदले भने उदाहरणीय काम गरेको छ। जुन सिको गर्न लायक पनि छ।
तस्विर : केन्द्रभाग अनलाईन

प्राप्त समाचार अनुसार दर खाने खर्च कटाएर पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुङ्गेसाँघु सितापाईला आमा समुहले स्थानीय सामुदायिक जानकी माविमा ५१ हजार १ सय ५ रुपैयाको अध्यक्ष कोष स्थापना गरेको छ। तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्षयका साथ विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । सामुहिक रुपमा दर खाने रकम संकलन गरि विद्यालयमा अक्षयकोष स्थापना गरेको समुहकी अध्यक्ष सिता काफ्लेले बताइन्।
अक्षयकोष स्थापना गरेर आमा समूहले उदाहोणीय काम गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए ।
कार्यक्रममा पोखरा १७ का वडासदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी लगायतको सहभागिता रहेको थियो । विद्यालयमा हाल ३७५ जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयका शिक्षक तुलसी गिरीले जानकारी दिए । पछिल्लो समय पोखरामा निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।
























