प्रहार समाचार । तनहुँ ९ भदौ २०८१ आइतवार । पृथ्वी राजमार्ग भोली साढे तीन घण्टा बन्द हुने भएको छ। गत शुक्रबार तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं १ ऐना पहरा नजिकै दुर्घटन परेर मरस्याङ्दी नदिमा पुगेको बस निकाल्नका लागि सडक बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आज एक सूचना प्रकाशित गर्दै भोलि बिहान ६: ३० बजे देखि १० बजे सम्म सबै प्रकारका यातायातका साधनहरु पूर्ण रूपमा बन्द हुने जनाएको छ। उक्त स्थानमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यु पी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।
तस्विर : प्रहार अनलाइन मिडिया

सोहि बस निकाल्नको लागि ठूला मेसिनरी उपकरणहरु प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारीसाधनहरू पूर्णरूपमा बन्द हुने हुँदा यात्रु , यातायात व्यवसायी लगायत सम्पूर्णमा सोही अनुरूप आफ्नो यात्रा व्यवस्थापन गर्न पनि प्रशासनले आग्रह गरेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङद्धारा हस्ताक्षित सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय तनहुँको पत्र :

स्मरणीय छ उक्त सवारी दुर्घटनामा चालक सहित २७ जना भारतीय नागरिकहरुको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।
























