प्रहार समाचार । तनहुँ ३२ साउन २०८१ शुक्रवार । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका अन्तर्रगत रहेको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई ३ सय शैय्या बनाउने प्रक्रिया शुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई तीन सय शैया बनाउने घोषणा गत साउन २७ गते गरेका थिए ।

सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा स्वासप्रस्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शैय्याको डीपीआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन् । उक्त डीपीआरको दुई वर्ष अगाडी देखिनै काम गरिएको र पहिलो चरणको डिपिआर प्राप्त भएपछि प्रकृया अगाडी बढाईएको डा श्रेष्ठले प्रहार समाचारलाई बताए । डीपीआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ । मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन् । दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको स्वासप्रस्वाससम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पतालमा हाल केन्द्रमा ५० जनरल वार्ड मात्र छन् । जसका कारण स्वासप्रस्वासका बिरामीको उपचार हुन सकेको छैन ।
डीपीआर आएसँगै अस्पताललाई तीन सय शैय्याको र केन्द्रमा सेवा विस्तार गर्न कोशेढुंगा भएको अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए ।
अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि श्रोत जुटाउने अपेक्षा गरिएको उनले बताए । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै कार्यकालमा अस्पतालको कामलाई गति दिने घोषणा गरेकाले यसैपाली विस्तारको काम अघि बढ्नेमा उत्साही बनेको डा. श्रेष्ठले बताए । अस्पतालले थप सात सय शैय्यासहित एक हजार शैय्या बनाउने दीर्घकालिन लक्ष्य राखेको छ । यसका लागिसमेत थप पहल गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको अनुगमनका अवसामा साउन २१ गते बताएका थिए ।

























