प्रहार समाचार । तनहुँ ३२ साउन २०८१ शुक्रवार । तनहुँको आँबुखैरेनी गाँउपालिकाका अन्तरगत रहेका सामुदायिक विद्यालय प्रधानध्यापकहरुको बैठकले आथिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम अनुसार सञ्चालन हुने विभिन्न निर्णयहरु गरेको छ। पालिकाले वडा नं. ४, ५ र ६ का १ देखि ५ कक्षा अध्यायन गर्ने विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरिने भएको छ।

आज शुक्रवार पालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको बैठकले माध्यमिक, निम्न माध्यमिक तथा प्राथमिक तहका प्रधानाध्यापकहरुलाई प्रोत्साहन स्वरुप सशर्त प्र.अ. भत्ता बाहेक क्रमश १ हजार ५ सय, १ हजार र ७ सय मासिक रुपमा प्रदान गर्ने तथा विद्यालय सञ्चालन तथा व्यवस्थापन रकम अन्तर्गत माध्यमिक ,आधारभूत तथा आधारभूत (१-३, १-५) सञ्चालित विद्यालयहरुलाई वार्षिक एकमुष्ट ५० हजार , ४० हजार तथा ३० हजार प्रदान गर्ने निर्णय गरेको छ।
यसै गरि उक्त बैठकले विद्यालयमा कार्यरत महिला शिक्षक सुत्केरी भएको अवस्थामा पठन-पाठनमा असर नपुगोस भन्ने उद्धेश्यले विद्यालयले सट्टा शिक्षक व्यवस्थापनको व्यवस्था गर्ने तथा उक्त सट्टा शिक्षक व्यवस्थापनको लागि माध्यमिक, निम्न माध्यमिक तथा प्राथमिक तहको दरबन्दीलाई क्रमश २५ हजार,२२ हजार ,२० हजार मासिक गरी अन्ठानब्बे दिनको तलबको व्यवस्था गर्ने निर्णय गरेको छ। यसका साथै
आवश्यकतानुसार समय-समयमा शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रमको आयोजना गर्ने, शैक्षिक उपलब्धी कमजोर भएका विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरी उपलब्धी वृद्धि गर्ने, शैक्षिक शत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) तयारी कक्षा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
बैठकले विषयगत शिक्षक, विद्यालयका पदाधिकारी लगायतलाई आवश्यकतानुसार क्षमता अभिवृद्धि कार्यक्रम, छलफल अन्तर्क्रिया तथा गोष्ठी सञ्चालन गर्ने, दुर्गम क्षेत्रमा सेवा गर्ने शिक्षकको लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने , शिक्षकको दक्षता पहिचान कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने,
विभिन्न दिवसको अवसरमा आयोजित गाँउपालिका स्तरीय कार्यक्रम सञ्चालन गर्ने, वडा नं. १, २ र ३ अन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई छात्रा बचत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकले शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९७ (८) मा “करारमा शिक्षक नियुक्त भएको एक शैक्षिक सत्रसम्म पनि रिक्त पदमा स्थायी पदपुर्ति नभएमा व्यवस्थापन समितिले यसरी स्थायी पदपुर्ति नभएसम्मका लागि एक पटकमा छ महिना नबढाई करारको म्याद थप गर्न सक्नेछ” भन्ने कानूनी व्यवस्था भएकोमा पालिका अन्तर्गतका विद्यालयमा करारमा कार्यरत शिक्षकहरुको लामो समयदेखि म्याद थप नभएकोले सबै प्रकारको करारमा रहेका शिक्षकहरुको करार अवधि (शुरुको एक वर्ष) समाप्त भएपछि २०८१ असार मसान्तसम्मको म्याद थप गर्नुका साथै २०८१ श्रावण १ गतेदेखि लागू हुने गरी बढीमा छ महिनाका लागि नियमानुसार म्याद थप गर्ने निर्णय गरेको छ।
यसका साथै बालविकास देखि कक्षा ६ सम्म सञ्चालित दिवाखाजा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनको लागि दिवाखाजा समिति पुनर्गठन गर्ने, विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका, २०७७ बमोजिम तालिका निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आँबुखैरेनी गाउँपालिका लगायत देशभरी नै डेंगु रोगको संक्रमण बढदै गइरहेको देखिदा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पूर्व तयारी तथा विशेष सतर्कता अपनाउने, विद्यार्थीमा संक्रमण बढी देखिएको खण्डमा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा जानकारी गराउने निर्णय पनि उक्त बैठकले गरेको पालिकाले जनाएको छ।

























