प्रहार समाचार । लमजुङ ३२ साउन २०८१ शुक्रवार । लमजुङको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको छ । तस्विर : फाइल फोटो

केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई यो संख्यामा खोप लगाइएको हो ।
गाईवस्तुमा २९ हजार ३ सय ८६, भैँसी ५७ हजार ७ सय ६, बाख्रा एक लाख १७ हजार ३ सय ४१, भेडा १६ हजार ८ सय ७९ वटा, कुकुर चार हजार ४ सय २१ र दुई हजारभन्दा बढी बङ्गुरलाई खोप लगाइएको थियो । सबैभन्दा बढी बेँसीशहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायामा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार १ सय ३२, दूधपोखरीमा १५ हजार ४ सय १६ पशुचौपायामा खोप लगाइएको छ ।

त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार ९ सय ९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार ६ सय २४, दोर्दी गाउँपालिकामा ३४ हजार ७ सय २८, मर्स्याङ्दी गाउँपालिमामा ३५ हजार ७ सय ५४ वटा र क्व्होलासोथर गाउँपालिकामा १६ हजार ७ सय १९ चौपायामा खोप लगाइएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता सञ्चालन गरिएको थियो । –रासस
























