प्रहार समाचार । गोरखा १३ साउन २०८१ आइतवार । उत्तरी गोरखाको अति बिकट धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेको पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारार्थ हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् । पहिरोमा पर घाइतेहरुलाई तत्काल हेलिकप्टर मगाएर उपचारकालागि लैजानु पर्ने माग स्थानियले गरेका थिए ।

स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन् ।

शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दै आएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रजिअ दाहालले बताए ।

























