• विजय अधिकारी / लमजुङ संवाददाता । लमजुङ १० साउन २०८१ बिहिबार । लमजुङको प्रवेशद्दार सुन्दरबजार नगरपालिका वडा नम्बर – ७ , पाँउदिमा नमूना सामुदायिक अस्पताल सुन्दरबजारले नि:शुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ ।

सुन्दरबजार – ७ , पाँउदिमा रहेको दोभान एकता युवा क्लबको समन्वयमा प्रत्येक हप्ताको मंगलबार नि:शुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउने गरि अस्पतालले सेवा सुचारू गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।
अस्पतालका प्रमुख श्रेष्ठले लमजुङ भित्रीने तथा बाहिरीने यात्रुहरूलाई समेत ध्यानमा राखी लमजुङ प्रवेशद्दार पाउदी बजारको चोकमा डेक्स राखेर सेवा सुरु गरेको हो। सेवा सुरु गरेको पहिलो दिनमा ९२ जना विरामीले सेवा पाएका थिए । सेवामा अस्पतालका विशेषज्ञ डाक्टर निङ्गी प्याङ्को नेतृत्वमा ५ जना स्वास्थ्यकर्मीको टोलिले सेवा प्रदान गरेको थियो । सेवामा अस्पताल प्रमुख हेमन्त श्रेष्ठ , मनोबिमर्शकर्ता शोभा ठकुरी र अन्य २ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको र सेवाग्राहीको संख्या हेरेर स्वास्थ्यकर्मी थप्दै लैजाने अस्पतालले जनाएको छ ।
अस्पतालले सेवा प्रदान गरेको मध्य ५० प्रतिशत बढीमा सुगरको मात्रा उच्च र ४२ जनालाई उच्च रक्तचाप देखिएको अस्पतालका प्रमुख श्रेष्ठले बताउदै अत्यधिक मात्रामा रक्तचाप उच्च भएका र सुगरको मात्रा धेरै देखिएका ५ जना विरामीलाई तत्काल नमुना सामुदायिक अस्पतालमा रिफर गरेर उपचार गराइएको जानकारी दिए।
अस्पतालले नि:शुल्क प्रेसर , सुगर , जाँच तथा परामर्श सेवा , मानसिक स्वास्थ्य सम्बन्धि मनोविमर्श सेवा, परिक्षण स्थलबाट अस्पताल जानु परेमा आउने जाने यातायातको व्यवस्था र रिफर गरिएका विरामीको लागि अस्पतालमा नि:शुल्क टिकटको सुविधा उपलब्ध गराउने अस्पतालका प्रमुख श्रेष्ठले बताए ।

























