प्रहार समाचार । काठमाडौँ, जेठ २९ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावा हुरीको पनि सम्भावना छ । आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसअघि सोमबार कोशी प्रदेशको पूर्वी भू-भागबाट नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको महाशाखाले जनाएको छ ।
नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रूपमा मनसुन हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।
























