प्रहार समाचार । तनहुँ, जेठ १८ ।बिहिबार साँझ आएको ठूलो हावाहुरीका कारण घर , विद्यालय र अस्पतालको छाना उडाउँदा तनहुँ जिल्लाका विभिन्न पालिकाहरूमा लाखौंको क्षति पुर्याएको छ।

तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत रहेका ५०/५२ घरका छाना , विद्यालय तथा अस्पतालको छाना उडाउँदा लाखौको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको पालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । ‘धेरै घरहरूमा क्षतिपुराएको छ । यसका अतिरिक्त अस्पताल र विद्यालयको समेत छाना उडाएको छ, हामी क्षतिको विवरण संकलनमा खटिसकेका छौंं , वडा अध्यक्षहरुपनि खटिएका छन्’ अध्यक्ष थापाले प्रहार समाचारलाई बताए ।
अध्यक्ष थापाका अनुसार विनाशकारी हावाहुरीले बन्दिपुर गाउँपालिकाका वडा नं १ को नाहाला, बानियाटार आसपासका घरका छानाहरु उडाएको छ।
त्यसै गरि वडा नं ३ को धमिलिकुवा, तामुङ, सेराटार, सुखौरा आसपासका घरमा पूर्णरूपमा क्षति पुऱ्याएको छ। त्यसै गरि वडा नं ५ को बाहुन भज्याङ थुम्की आसपास वडा नं ४ को लोहिपाखा, बन्दिपुर बजार तथा वडा नं ६ को चिसापानी, हटिया, साराङघाट आसपासका गाउँहरुमा ठूलो क्षति पुऱ्याएको छ।
बन्दिपुर ३ रामकोटमा रहेको सरास्वती आधारभूत विद्यालयको छाना हावाहुरीले उडाउँदा विद्यार्थीहरुको पठन पाठन अबरुद्ध हुने भएको छ।। बन्दिपुर अस्पतालको नयाँ भवनको २० लाख खर्चेर बनाएको टिनको छाना आधाभाग कामै नलाग्ने गरि क्षति पुऱ्याएको पालिकाका अध्यक्ष थापाले बताए ।
हावा हुरीकै कारण तनहुँको भानु नगरपालिका, आँबुखैरेनी गाउँ पालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका, रिसिङ, घिरिङ लगायतका पालिकाहरुमा समेत ठूलो क्षति पुऱ्याएको समाचार प्राप्त भएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ।

























