हेडलाईनविचारप्रदेशसूचना प्रविधि

आगलागी र यसबाट बच्ने उपाय

२०७८ साल फागुन २२ गते तनहुँको सदरमुकाम दमौली स्थिति भूपाल हार्डवेयरमा अचानक विद्युत सर्किट सर्ट भई आगलागी हुँदा उनको मात्रै झन्डै ६ करोड भन्दा बढीको नोक्सानी भएको थियो भने अन्य आसपासका घरमा समेत गरी झन्डै १२ करोड बढीको नोक्सानी हुन पुगेको थियो। त्यस्को ठिक तीन वर्ष पछि हिजो व्यास नगरपालिका वडा नं ३  दमौली बजारमा रहेको जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको दर्जनौं शटरहरुमा राती आगलागी हुँदा करोडौंको क्षति हुन पुगेको छ। यी दुईवटा उदाहरणहरु त प्रतिनिधि घटनाहरु मात्र हुन् । जिल्ला र देश भरिको आगलागीको घटना त कति घटेका छन् कति र यसबाट हुने क्षतिको विवरण खरबौं खरब पुग्न जान्छ । आगो, पानी र विजुली नभई पनि नहुने र भएपनि उचित प्रयोग गर्न नजान्दा धेरै ठूलो धनजनको नोक्सानी हुने गर्दछ। सानो एउटा सलाईको काँटीले करोडौंको धनमाल खरानीको थुप्रोमा परिणत गर्दछ होसियारी नअपनाउने हो भने ।

कुनै पनि इन्धनहरूको निश्चित तापक्रममा वातावरणमा रहेका पर्याप्त अक्सिजनसँगको रासायनिक प्रतिकृयाबाट उत्पन्न हुने शक्ति नै आगो हो जसमा ताप तथा प्रकाश हुन्छ ।

आगोमा न्युनत्तम रूपमा तीन इकाईहरू रहेका हुन्छन् । १. इन्धन २. ताप ३. अक्सिजन जसलाई आगोको त्रिकोण पनि भनिन्छ । जस्तै तपाईंले पनि कुनै कागज जलाउँदा लाइटर र सलाई बाल्नु हुन्छ कागजमा (१) इन्धन बाट (२) ताप पैदा हुन्छ र वातावरणमा रहेको (३) अक्सिजन बाट त्यो कागज जल्न थाल्छ । यसरी यहाँ आगोको त्रिकोण मिल्ने हुनाले आगोको शुरुवात हुन्छ । 

हामीले आगो निभाउनका लागि यही त्रिकोणको पहिचान गरेर यसलाई बन्द गर्न सक्छौं । जस्तै यस उदाहरणमा हामीले बलिरहेको कागजबाट अन्य कागज हटाउन सक्छौं, जसले त्यहाँ इन्धन (१) को कमी हुन्छ र आगो निभ्छ त्यस्तै दोस्रो उपायमा हामी त्यस आगोमा पानी हाल्न सक्छौ जसले आगोमा ताप (२) लाई हटाइदिन्छ र आगो निभ्छ र अर्को उपाय त्यस आगोलाई बालुवा, हरियो स्याउला, भिजेको तौलियाले छोप्न सकिन्छ जसबाट आगोमा अक्सिजन (३) को आपूर्ति बन्द हुन्छ र त्यो आगो निभ्छ ।

आगलागी रोकथामका उपाय :

– केटाकेटीले भेट्न सक्ने ठाउँमा सलाई, लाइटर जस्ता सामग्री नराख्नुहोस् ।

– भान्सामा खाना बनाउँदा ग्याँस वा आगो बल्ने अवधिभरि भान्सा छाडेर टाढा नजानुहोस् ।

– यथासम्भव ग्याँस सिलिण्डरलाई भान्सा कोठाभन्दा बाहिर नै राख्नुहोस् ।

– सिलिण्डरको पाइप, सिलिन्डर समय–समयमा जाँच गर्नुहोस्, कुनै खराबी वा टुटफुट पाउनु भएमा, तुरुन्त मर्मत गराउन लगाउनुहोस् ।

– खाना बनाइसकेपछि ग्याँसको रेगुलेटर बन्द गर्ने तथा समय–समयमा ग्याँस सिलिण्डर र पाइपको सरसफाइ गर्नुहोस् ।

– ग्याँस सिलिण्डर घर ल्याउन अघि सिल नभएको, तौल कमजस्तो लाग्ने, धेरै गन्हाउने (लिक भएको शंकास्पद) सिलिण्डर नल्याउनुहोस् ।

– घरमा भएका विद्युत उपकरणहरू सही अवस्थामा छ÷छैन नियमित जाँच गर्नुहोस्, नाङ्गो टार, टुटेफुटेका स्विच, एक्सटेन्सन कर्डलाई मर्मत् तथा परिवर्तन गर्नुहोस् ।

– एक्सटेन्सन कर्डमा धेरै विद्युत खपत गर्ने (आइरन, हिटर, फ्रिज, माइक्रोवेभ ओभन, मोटर) तथा अन्य धेरै उपकरण जोडेर एकैचोटि प्रयोग नगर्नुहोस् ।

– २ पिन स्विचको बदलामा सिधै नाङ्गो तार सकेटमा पसाएर विद्युतीय सामग्री प्रयोग कहिल्यै नगर्नुहोस् ।

– प्रयोग नभएको अवस्थामा विद्युतीय सामग्रीहरू सकेटबाट निकालेर अलग राख्नुहोस् ।

– राति सुत्ने बेलामा वा घर छाडेर बाहिर जानुपर्दा सम्पूर्ण विद्युतीय उपकरणहरू बन्द गरेरमात्र जानुहोस्  । (यसले तपाईंलाई आगलागीबाट सुरक्षामात्र होइन बिजुलीको खपतमा कमी ल्याउन पनि सहयोग पुऱ्याउँछ ।

– हावा चलेको अवस्थामा खुला स्थानमा आगो नबाल्नुहोस्, बारी, बाटोमा बालिएको आगो पूर्ण रूपमा निभेको निक्र्यौल गर्नुहोस् ।

– घरमा पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण नगर्नुहोस् । (यस्ता सामग्रीमा केटाकेटीको पहुँच रोक्नुहोस् ।)

– घरमा प्रज्ज्वलनशील पदार्थहरू राख्न परे यसलाई छुट्टै, उपयुक्त भाँडोमा राम्रोसँग बिर्को बन्द गरेरमात्र राख्नुहोस्, जहाँ आगोको स्रोत सहजै पुग्न नसकोस् ।

– केटाकेटीले जोखिम आँकलन गर्न सक्दैनन् उनीहरू खेल्ने क्रममा ठूला मानिसको नक्कल गरेर आगोको प्रयोग गर्न सक्दछन् केटाकेटीलाई मात्र घरमा एक्लै नछाड्नुहोस् ।

– घर तथा घर वरपर सरसफाइ कायम राख्नुहोस् 

– घर, गोठ खाली छाडेर नजानुहोस्, आफू केही समयका लागि जानुपर्दा छिमेक वा आफन्तलाई हेरचाह गर्न आग्रह गर्नुहोस् ।

– कोठाभित्र चुरोट नखानुहोस् तथा जथाभावी चुरोटका ठूटा नफ्याँक्नुहोस् ।

अनेपक्षित आगलागीका पूर्व तयारी 

– आफ्नो मोबाइलमा वा घरको टेलिफोन सम्पर्क सूचीमा वारुण यन्त्र (दमकल) को नम्बर ०२५–५२०१९९ र ९८४२०३८२९९ सेभ गरेर राख्नुहोस् । तथा प्रहरीको १०० मा फोन गर्नुहोस्।

– घरमा रहेका पानीका ट्याङ्की पूर्ण रूपमा रित्तो हुञ्जेल प्रयोग नगर्नुहोस्, आकस्मिक अवस्थाको लागि केही मात्रामा पानी जोहो गरेर राख्नुहोस् ।

– घरमा फायर ब्ल्याङ्केट (भान्छामा), फायर एक्स्टिनगुसर राख्नुहोस् ।

– कोठामा सिठी, टर्चलाइट सदैव तैयारी अवस्थामा राख्नुहोस् ।

– कोठामा खन्ती, झम्पल, मार्तलजस्ता सामग्री सुरक्षित साथ राख्नुहोस्, जसले आकस्मिक अवस्थामा झ्याल, ढोका फोडेर बाहिर निस्किन सकियोस् ।

– आफू बसेको घर वा कार्यालयमा आकस्मिक अवस्थामा कसरी सुरक्षित साथ बाहिरिन सकिन्छ त्यसको पहिचान तथा आँकलन गर्नुहोस् ।

– वन क्षेत्रमा डँढेलो लगाउने तथा चुरोट खाएर जथाभावी नफ्याक्नुहोस् ।

आगलागी भइहालेमा के गर्ने ? 

– तपाईंले कुनै आगलागीको घटना देख्नु भएमा, तत्काल छेउछाउमा रहेका अन्य व्यक्तिलाई पनि खबर गर्नुहोस् र नियन्त्रणमा सहयोगका लागि आग्रह गर्नुहोस् ।

– आगलागी कसरी भएको जान्ने प्रयास गर्नुहोस् । (विद्युतीय वा अन्य आगो) 

– आगोको आकारमा विचार पुऱ्याउनुहोस्, आगो फैलन सक्ने र आगो तपाईंको नियन्त्रणमा आउने सम्भावना छैन भने तत्काल वारुण यन्त्रलाई खबर गर्नुहोस् ।

– विद्युतबाट आगो लागेको शङ्का लागेमा घरमा रहेको मेनस्विच तत्काल बन्द गर्नुहोस् ।

– विद्युतीयबाहेक अन्य सामान्य सानो आगलागी छ भने पानीको सहायताले निभाउने प्रयास गर्नुहोस् ।

– आगो कोठाभित्र लागेको छ र नियन्त्रण गर्न सम्भव छैन भने कोठाको ढोका बन्द गरिदिनुहोस् । (यसले आगोलाई सहजरूपमा फैलन दिँदैन)

– आगलागी भएको स्थानमा अग्नि नियन्त्रक बाहेक अरूलाई प्रवेश गर्न नदिनुहोस् ।

– आफ्नो ज्यान जोखिममा राखेर आगलागी भएको स्थानबाट सामान निकाल्ने प्रयास नगर्नुहोस् ।

– आगलागी भएको स्थानदेखि नजिकै रहेको मुख्य चौकमा केही सहयोगीलाई वारुण यन्त्रलाई बाटो देखाउनका  लागि पठाउनुहोस् ।

– आगलागीबाट केही सामग्री जोगाउन सकिन्छ भने त्यसलाई निकालेर सुरक्षित स्थानमा राखिदिनुहोस् ।

व्यक्तिगत घर तथा कार्यलयहरूमा पनि सुरक्षाको लागि बजारमा सहज र सुपथ मूल्यमा उपलब्ध हुने फायर एक्स्टिनगुसर, फायर ब्ल्याङ्केट राख्न सकिन्छ जसले आगलागीको शुरुवाती समयमा नै आगलागीलाई नियन्त्रण गरी जन–धनको थप क्षति हुनबाट रोक्न सकिन्छ ।  स्थानिय तहले अनिवार्य रूपमा दमकललाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने गर्नाले पनि आगलागी भैहालेको खण्डमा आगो निभाउन सहज हुन्छ। सन्दर्भ सामाग्री ब्लाष्ट अनलाईन/ गगन नेपाली


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button