हेडलाईनव्याससमाचारगण्डकी

दलित र गैर दलितहरुको उदाहरणीय कार्य : सहकार्यमा बन्यो सुन्दर  दुर्गा भवानीको मन्दिर

प्रहार समाचार । तनहु, जेठ १ । समाजमा बसेपछि दलित र गैर दलितहरु सहकार्य गरेर अगाडी बढ्नु पर्छ भन्ने उदाहरण व्यास नगरपालिका–१३ बेलवासमा देखिएको छ। परियार र गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा उनिहरु जुटेका हुन्।

मच्छिन्द्रनाथ रथ यात्राको दिन पारेर शनिबार नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मन्दिरको उद्घाटन गर्दै समाजमा विभेदमा परेको समुदायलाई उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताए । नगर प्रमुख न्यौपानेले भने -“दलित समुदायले मन्दिर बनाउने प्रस्ताव ल्याएपछि हामीले सहयोग नगरी बस्न सकेनौँ” । मन्दिर निर्माणपछि मानिसलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्ने बुझाई न्यौपानेको छ ।पञ्चेबाजासहित बजार परिक्रमा गरी दुर्गाको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको थियो

बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताए। मन्दिर निर्माणका लागि आफूहरुले करिब छ आना क्षेत्रफललाई संरक्षण गरेकोसमेत परियारले जानकारी दिए ।

सदियौँदेखि मान्दै आएको हिन्दू धर्म छाडेर अन्य धर्म अँगाल्न चाहनेहरुको चाप समाजमा बढ्दै गयो”, प्रमुख सल्लाहकार परियारले भने, – “त्यसैले परियार समाजका सबै भेला भई हिन्दू धर्मलाई नै बचाई राख्नुपर्छ भनेर दुर्गा मन्दिर बनाउन जुट्यौँ ।”

वडाध्यक्ष वसन्त आले, स्थानीय वर्च्याङ्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमबहादुर आले, सचिव सिर्जना तिवारी र स्थानीय मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगाले लगायतबाट समेत मन्दिर बनाउन साथ र सहयोग पाएपछि आफूहरु मन्दिर बनाउन अघि बढेको परियार समाजका अध्यक्ष राम बहादुर परियारले बताए ।

उक्त मन्दिर निर्माणका लागि हालसम्म करिब रु पाँच लाख खर्च भएको समाजले जनाएको छ । नगरपालिकाको कार्यालय र वडा नं १३ कार्यालयबाट रु ५०/५० हजार प्राप्त भएको र अन्य रकम स्वऐच्छिक चन्दाबाटै जुटाइएको अध्यक्ष परियारको भनाइ छ ।

परियार समाजले गरेको मन्दिर निर्माण कार्यमा आफूले पनि  एक हजार पाँच सय चन्दा प्रदान गरी ऐक्यबद्धता जनाएको मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगालेले बताए । परियारले समुदायले मन्दिर निर्माण गरे पनि सबै जातजातिका मानिसले सहभागी भई पूजापाठ गर्नुपर्नेमा उनको धारणा छ ।

व्यास–१३ का वडाध्यक्ष वसन्त आले, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष विश्व बाँस्तोला, नगर कार्यपालिका सदस्य चन्द्रमाया परियार, नेकपा मशालका जिल्ला इन्चार्ज पुष्पलाल श्रेष्ठ, समाजका उपाध्यक्ष लक्ष्मण परियार लगायतले विभेदमा परेको समुदायबाट मन्दिर निर्माण हुनु सकारात्मक कुरा रहेको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button