प्रहार समाचार । काठमाडौँ, जेठ १ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) फ्रान्स गएका छन्। विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा भाग लिन उनी गएराति फ्रान्स उडेको महानगर स्रोतले जनाएको छ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्सतर्क लागेका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् । कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ। मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ। यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन्।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी काठमाडौंलाई ‘सिनेमाको रचनात्मक सहर’को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ।
फ्रान्सको कान्स सहर पनि सिनेमाको ‘क्रिएटिभ सिटी’को एक सदस्य हो।
बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ। बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्ने कार्यतालिका तय भएको समाचार श्रोतले बताएको छ।

























