हेडलाईनसमाचारप्रदेश

आज चैते दशैं पर्व मनाइँदै : शक्ति पिठहरुमा भक्तजनहरुको भिड

प्रहार समाचार । तनहुँ, बैशाख ४ ।आज चैते दशैं पर्व मनाइँदै छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा रहेका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ । तनहुँ जिल्लाको विभिन्न स्थानमा रहेका मन्दिरहरुमा विहानै देखि भक्तजनहरुको भिड लागेको छ। छाब्दी बाराही, अकला, ढोरबाराही, तनहुँ कालिका मन्दिर, व्यास ११ को मनकामना आश्रम मन्दिर लगायतमा भिड लागेको छ।

चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रूपमा मनाउने गरिन्छ । रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।

गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।  चैते दशैंका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button