हेडलाईनसमाचारप्रदेशखेलकुद

एसिसी प्रिमियर कप २०२४ : नेपालसहित १० टिमको सहभागिता

प्रहार समाचार । चैत २९ । एसिसी प्रिमियर कप २०२४ शुक्रबारदेखि ओमानमा सुरू हुँदैछ। प्रतियोगितामा साविक विजेता नेपालसहित १० टिमले भाग लिँदैछन्। 

अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ अघि प्रतियोगिता हुँदा विश्वकपमा छनोट भएका नेपाल र ओमानका लागि फाइदा पुग्नेछ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्। 

टी-२० फर्म्याटमा हुने कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। 

खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग चैत ३० गते खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख  ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

नेपालको मलेसिया र कतारसँगको खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे हुनेछ। हङकङ र साउदी अरेबियासँगको खेल विहान सवा एघार बजे सुरु हुनेछन्। 

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्। 
प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

ओमानमा कप खेलेपछि नेपालले वेस्ट इन्डिज ए क्रिकेट टिमसँग घरेलु मैदानमा ५ टी-२० खेल्नेछ। त्यसपछि नेपाल विश्वकप खेल्न अमेरिका जानेछ। जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्।

प्रिमियर कप खेल्ने नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन्। भारतमा गएका आकास चन्द मात्र टिममा छैनन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।  – सेतोपाटी बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button