प्रहार समाचार ।लमजुङ , चैत २३ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पुरा गर्नु रहेको बताएका छन् ।

“स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार” भन्ने नारासाथ शुक्रबारदेखि प्रारम्भ भएको आठौं लमजुङ महोत्सव, २०८० को उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई शुक्रबाार वेशीशरमा सम्बोधन गर्दे राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ अब हामीले विशेष ध्यान दिनुपर्ने बताए । “त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ, मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकरणको मार्ग प्रशस्त गर्न सक्दछौ जुन ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पनि लक्ष्य हो”, राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले राजनीतिक दल, सरकार र नीति निर्माताहरूले सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना हो भन्ने कुरा भुल्नु नहुनेमा जोड दिए ।
निजी क्षेत्रसँगको सहकार्यमा यहाँको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गराउनुपर्नेमा जोड दिंदै पौडेलले उत्पादन, उत्पादकत्व र यस क्षेत्रको आर्थिक उन्नतिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्ने आवश्यकता छ भन्दै जलविद्युतका धेरै आयोजनाहरू यसै क्षेत्रमा निर्माण भइरहेकाले भविष्यमा ऊर्जाको आपूर्ति सहज हुने हुँदा यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण समयमै सृजना गर्नु उपयुक्त हने धारणा व्यक्त गरे ।
देशका विभिन्न भागमा हुने महोत्सव तथा मेला पर्वहरूले सो क्षेत्रका धर्म, कला, सस्ंकृति, परम्परा संरक्षण र संवद्र्धन तथा यस क्षेत्रको पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवद्र्धन, औद्योगि, पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गदै भने – “ भौगोलिक रूपमा नेपालकै मध्यभागमा अवस्थित लमजुङ जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, आस्थाका धरोहरका रूपमा धार्मिक सम्पदाहरू, गौरवपूर्ण ऐतिहासिक गाथा, लोकतान्त्रिक राजनीतिक आन्दोलनको उर्वर भूमि, साहित्य तथा सास्कृतिक पक्षका दृष्टिले पनि आकर्षणको केन्द्रमा रहेको छ” ।

२००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा जातीय भेदभाव, छुवाछुत विरुद्ध सामाजिक आन्दोलनको चम्किलो जागरण बनेको हलो क्रान्ति यही भूमिबाट उब्जिएको प्रसंग उल्लेख गर्दै राष्ट्रपतिले सवाङगिण राजनीतिक चेतनाका लागि ब्राह्मणहरूले चलाएको सामाजिक जागरणको उक्त अभियानले राणा शासनको जग नै हल्लाइदिएको थियो र यहीबाट प्रजातन्त्रको उज्यालो प्रकाश पहाडी कन्दरा फैलिएको चर्चा गरे।
विश्वमै उत्कृष्ट पर्यटकीय पदयात्राको ख्याती कमाएको अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका कारण आवश्यक सुविधा र पूर्वाधार खडा गरी यसले पर्यटन व्यवसायबाट लाभ लिन सक्ने प्रशस्त संभावना रहेको उल्लेख गर्दै राष्ट्रपतिले आन्तरिक पर्यटनको केन्द्र बनेको घले गाउँ, काउलेपानी र भुजुङसहितका गाउँ अनि होमस्टेहरू मात्र हैन गाउँशहर वेँशीशहर, राइनासटार, भोर्लेटार हुँदै चितिदेखि चसंकूसम्म, घनपोखरादेखि डाँडा– कुन्छासम्म र विचौरदेखि रिस्ति रम्घासम्मका पुराना नामी गाउँहरूले यहाँको मनोरम ऐतिहासिक आकर्षणको आयामलाई बढाइदिएको बताए ।






















