प्रहार समाचार । गोरखा, फागुन २१ सोमवार । गोरखाको शहिद लखन गाउँपालिका वडा नं- २ मनकामना, ढाँडबारीमा रहेको मनकामना मगर होम स्टे यतिबेला आन्तरिक तथा वाह्य पर्यटकहरुको पर्खाइमा रहेको छ ।
गोरखाको पवित्र मनकामना मन्दिरको पूर्व उत्तर तर्फ रहेको होम स्टेमा अर्गानिक खाना , पारिवारिक वातावरणमा आरामदायी बसाई र सुन्दर प्राकृतिक वातावरण रहेको छ । होम स्टे यसै वर्षबाट सुरु गरिएको मनकामना होम स्टेका अध्यक्ष शिव रानाले बताए । “हामीले होम स्टे सञ्चालन गर्ने भन्ने सोच त थियो तर कसरी सञ्चालन गर्ने भन्ने दोधारमा थियौं पछि विपद उत्थानशील युवा तथा महिला उद्यमी परियोजना, सहमती र लुथरन वर्ल्ड रिलिफको साझेदारी परियोजनाले तालिम तथा सीप प्रदान गरेपछि होम स्टे सुरु गरिएको हो ” अध्यक्ष रानाले भने । (होम स्टेमा आएका आन्तरिक पर्यटकहरु )

अध्यक्ष रानाका अनुसार आगन्तुक पाहुनाहरूलाई स्थानीय उत्पादन कोदोको सेलरोटी, गुन्द्रुक र भटमासको अचार, सिस्नुको तरकारी , सुन्तला, नास्पति , आरु लालिगुँरास लगायतबाट उत्पादन गरिएका जुस, जाम , रक्सीलाई ब्रान्डिङ गरेर पाहुनालाई कोसेली दिने र फरक स्वाद चखाउने गरिएको छ।
गाउँमै रहेका बेरोजगार दाजुभाई दिदी बैनिहरुलाई गाउँमै रोजगारीको अवसर सिर्जना गरी आयआर्जनतर्फ उन्मुख गराउने उद्देश्यले होम स्टे सुरु गरिएको होम स्टेका सदस्य आशिका थापा मगरले बताईन् । नेपालकै स्वादिलो सुन्तला उत्पादन हुने, मनोरम हिम श्रृङ्खला देखिने , स्वच्छ हावापानी भएको रमाईलो मगर बस्तिमा सञ्चालीत यस होम स्टेमा आउने पर्यटकहरुलाई मगर संस्कृतिका थालि नाच, कौरा नृत्य तथा अन्य मगर संस्कृति देखाएर भरपुर मनोरञ्जन गरिने संस्थाका अध्यक्ष शिव राना बताउँछन् ।
( पवित्र माता मनकामनाको मन्दिर )

सहमति संस्थाका कार्यक्रम संयोजक शिव सुवेदी गाउँमै आयआर्जनको र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले संस्थाले होम स्टे सञ्चालन गर्नका लागि तालिम , ज्ञान , र सिप प्रदान गरेको बताए । १ सय १० घरधुरी मगर बस्ति रहेको सुन्दर यस ढाँडबारीमा नेपालमै सुन्तलाको उर्वर भूमिका रुपमा समेत परिचित छ। यसैको प्रवर्धन गर्न गोरखा उद्योग वाणिज्य संघको पहलमा सुन्तलाको सुन्दर प्रतिमा समेत निर्माण गरिएको छ।
( सुन्तलाको आकर्षक प्रतिमा )

हाललाई १० घरमा होम स्टेको व्यवस्थापन गरी ४४ जना भन्दा बढि पर्यटकहरुलाई खाना र बास बस्ने सुविधा मिलाइएको र निकट भविष्यमा एक सय भन्दा बढि आगन्तुकहरूलाई खान र बासको व्यवस्था मिलाउन लागिएको होम स्टे सञ्चालक समितिले जनाएको छ। होम स्टे पुग्न तनहुँको आँबुखैरेनी बजार मर्याङ्दी नदि तरेर पूर्व तर्फ लागि दरौंदी नदीको पक्की पुल पारगरेर पूर्वतर्कको बच्चि मोटरमार्गको सात किलो मिटर साना सवारी साधन जिप तथा मोटर साइकल बाट छिचोल पछि सहजै पुग्न सकिन्छ । होम स्टेमा बास बसेर विहन उठेर १५ मिनेटको पैदल यात्रा गरि माता मनकामनाको दर्शन समेत गर्न सकिने बताइन्छ ।
( कोदोको सेलरोटी, गुन्द्रुक र भटमासको अचार र तरकारी )


( सुन्दर होम स्टेका घरहरू )
























