प्रहार समाचा ।काठमाडौँ,फागुन १६ बुधवार ।नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा भएको खेलमा लेबनानविरुद्ध पुनरागमन जीत निकाल्दै लेबनानलाई २-१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलसँगै नेपालले पुनरागमन जीत निकालेको हो । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ । यसअघि जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे । त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट लेबनानले अग्रता बनाएको थियो । ३८औँ मिनेटमा पूजाले ‘ब्याक पास’ दिएको बलमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा चनाखो नरहँदा नेपालले गोल व्यहोरेको थियो ।
७६औँ मिनेटमा सावित्रा भण्डारीको गोलमा नेपाल खेलमा फर्कियो । इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि नेपालले २–१ को रोमाञ्चक जीत निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
























