प्रहार समाचार । पोखरा, फागुन १३आइतवार । गजल सन्ध्या पोखराको अध्यक्षमा साहित्यकार मन क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्।समितिको शनिवार पोखरामा भएको१३ औं अधिवेशन तथा १८ औं साधारण सभाले क्षेत्रीलाई पुनः अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । कोषाध्यक्षम विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भएका छन् । सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, माधव खतिवडा, सागर अधिकारी र करण कपुर खनाल छन् । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सन्ध्याको गरिमा र उचाईलाई कायम राख्दै सबैलाई समेट्दै जाने बताए ।

पोखरेली साहित्यमा गजल सन्ध्याको अहम् भूमिका छ । म फेरि गजलको त्यही राजमार्गमा आइपुगेको छु, जहाँ म हिजो पनि हिँडेको थिएँ र अहिले पनि हिँडिरहेकै छु,’ मनले भने, ‘अग्रज, समकालीन र नयाँ पुस्तालाई जोड्दै सन्ध्यालाई अगाडि बढाउँदै जान सहयात्रा गर्ने छौं ।’यसअघि वसन्त विनोद सन्ध्याका अध्यक्ष थिए । अधिवेशनको उद्घाटन सत्रमा गजलको अघोषित पाठशाला बनेको सन्ध्याको गतिविधि शून्यप्राय बन्न पुगेको भन्दै पूर्वअध्यक्ष दीपक समीपले चिन्ता व्यक्त गरे ।
संस्थापक अध्यक्ष दिलिप दोषीले लडेर, जुधेर त्यो बेला सन्ध्या स्थापना गरेको र स्थापनाकालीन पदाधिकारी तथा सदस्यहरु पछिल्लो समय नजोडिएको बताए । पूर्व अध्यक्ष अमृत सुवेदीले हिजो खल्तीबाट पैसा हालेर कार्यक्रम चलाउनुपर्ने, पुरस्कार बाँड्नुपर्ने परिस्थितिको अन्त्य गर्दै कोष स्थापना गरिएको तर अब फेरि सन्ध्यालाई व्यवस्थित ढंगले चलाउनुपर्ने चुनौति थपिएको बताए ।
पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी संयोजक, संस्थापक अध्यक्ष दिलिप दोषी र सदस्य रामजीप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्म कार्यसमितिको घोषणा गर्दै सपथ गराएको हो । शनिबार नै सन्ध्याको २ सय ४८ औं नियमित गजल वाचनसमेत भएको थियो ।
























