विचारगण्डकीसाहित्य

चर्चित लोकगायिका शिला आले : जीवन र संघर्ष

नेपाली लोकदोहोरी फाँटको एउटा चर्चित नाम हो शिला आले   । उहाँ कृष्ण बहादुर आले र ललिमायाँ आलेको कान्छी छोरी हुनुहुन्छ । उहाँका दूइवटा दाजु र दुइवटा दिदीहरु रहेका छन्  । उहाँको जन्म गण्डकी प्रदेश तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका वडा नं. ६ आँबुमा भएको हो । तनहुँको ग्रामिण परिवेशमा जन्मेर हुर्किएकी शिलाको किशोरी अवस्था अत्यन्त दुःखमय थियो । आँबुको गाउँमा खोलिएको प्राथमिक विद्यालयमा ५ कक्षा सम्म अध्ययन गरेकी शिलालाई ६ कक्षा देखि १० कक्षासम्म अध्ययन गर्दा घरको सम्पूर्ण काम भ्याएर रामशाह माध्यमिक विद्यालय आँबुखैरेनीमा अध्ययन गर्न जानु पर्दथ्यो । त्यैसैले हरेक दिन बिहान ४ बजे उठेर उहाँले गाइर्भैसीको दूध दुहेर ५/६ माना दूधलाई सात आठ माना बनाएर बजारमा दूध बेच्न लैजाने र बजारबाट घर फर्केर खाना खाइवरी कापि किताव च्यापेर त्यही बाटो डेढघण्टा पैदलै हिंडेर नियमित रुपमा विद्यालय पुगेर उनले पढ्ने गर्थिन ।  विदाका हरेक दिनहरुमा  गाउँ नजिकका वन तर्फ गएर गाई, भैंसी, भेंडा, बाख्रा चराउने र घाँस दाउरा पनि  साथसाथै लिएर गाइ बस्तुका साथ उहाँ घर फर्कने गर्नु हुन्थ्यो । वनमा जाँदा आफ्ना सहेलीहरु सङ्ग सङ्गै उनी पनि गीतहरु सुसेल्ने गर्दथिन । त्यही सुसेलीले उहाँलाई एक सफल गायिकाको रुपमा स्थापित गर्न पुगेको छ । एक पटक आफु पढी रहेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा शिलालाई  गीत गाउने र नाँच्ने सुअवसर मिल्यो ।उहाँले गाएको गीतले शिक्षक, विद्यार्थी र अभिभावक समेत सबैको मन छोयो । अभिभावक र गुरु वर्ग सबैले गीतको प्रशंसा गरे । सबैबाट प्रशंसा पाउँदा आफ्नो स्वर राम्रो रहेछ भन्ने महसुस भएकाले शिलाले रेडियो नेपालका गीतहरु सुन्ने र सोही गीतलाई गाएर आफ्नो गीत गाउने अभियानलाई तिखार्दै गइन । रामशाह मा.वि.बाट एस.एल.सि. परीक्षा उतिर्ण गरेपछि शिलालाई काठमाण्डौ पुगेर उच्च शिक्षा अध्ययन गर्ने मन भयो । काठमाण्डौ बस्ने दाजुभाइहरुले सहयोग गरेकाले शिला पद्यकन्या क्याम्पसमा बिहानी कक्षामा अध्ययन गर्दै थिइन । वि.सं २०५७ सालको चैतमा परिशरा थापाले उहाँलाई दोभान दोहोरी साँझमा गीत गाउन जाने निम्ता दिनु भयो । शिलाजी परिशराका साथमा दोभान दोहोरी साझमा जानु भएको थियो ।

त्यही दोहोरी साँझमा गाएको गीतले रेडियो नेपालमा स्वरपरीक्षण दिने प्रसङ्ग उठ्यो । अर्जुन बगाले, बद्री पराजुली, कृष्णसुधा ढुङ्गाना, बमबहादुर थापा, अम्मर विरही दाजुहरुले रेडियो नेपालमा स्वरपरीक्षण दिन जाने काममा उहाँलाई अमूल्य सहयोग गरेका थिए । असार २७ गतेका दिन २०/२० जना सहभागीहरुको भ्वाइस टेष्ट लिंदा उहाँले १६औंं स्थानमा नाम निकाल्न सफल पनि भइन । बिस्तारै  बिस्तारै राम थापाको साथ र सहयोगले शिलाले काठमाण्डौको ठमेलमा दोहोरी गीत गाउन सुरुगर्न थालिन  । सीता दिदीले नै शिलालाई दोहोरी गीत गाउन उत्प्रेरित गरी रहिन भने बलिसरा र बदरीले दोहोरी खालमा दिनु पर्ने जवाफी उत्तर पनि सिकाएर दोहोरी गीत गाउन उत्साह थप्ने र भरोसा दिने गर्दथे । लगभग २ वर्ष सम्म गीत संङ्गित क्षेत्रको यात्रामा ललितकला क्याम्पस र अन्य विद्यालयहरुमा पढाउने गुरु शिबराज पौडेल सङ्ग अचानक उहाँको भेट भयो । भेट पश्चात विस्तारै बिस्तारै मायाँको जरो जेलिंदै  गयो ।  दुबैजना एक अर्कासङ्ग छुट्टिन नसक्ने नै भए । अन्ततः साविक पार्वतीपुर गाउँपालिका हाल  भरतपुर महानगरपालिका वडा नं.२१ सीतापुर चितवन निवासी संगीतका साधक गुरु शिवराज पौडेलसंग उहाँले वैवाहिक सम्वन्ध कायम गर्नु भएको छ । हाल उहाँका परिवारमा श्रीमान शिवराज पौडेल, छोरीहरुमा शिरिका पौडेल र आर्य पौडेल रहेका छन् । घरपरिवारबाट अहिले सम्म त्यस्तो अप्रीय वचन नआएता पनि मगरको छोरी भएर बाहुनसङ्ग विवाह गरेको विषयमा मगर समाजले उहाँको चर्कै विरोध गरेको र सो विरोधलाई हालसम्म पनि झेल्दै आइरहनु भएको धुर्व सत्य हो । 


शकुन्तला थापा शिलाजीको अत्यन्त्यै मिल्ने साथी थिइन । कलेज जाँदाहोस या बजार संगै जाँदा दुबै जना एउटै ड्रेस लगाएर हिंड्ने गर्दथे । कृष्णसुधा ढुङ्गाना र भवानी भण्डारी सङ्ग मिलेर उहाँले  खैरेनीमा गेट, मौरी फूलमाथि जस्ता एल्वमहरु क्रमशः निकाल्नु भयो । यिनै गीतहरुले उहाँको उचाई सगरमाथाको शिखर भन्दा माथि  पुऱ्यायो ।  यस लगतै उहाँले “सुन्तला र स्याउ पिरती लाउने भए अलि वर आउ” भन्ने गीत गाउनु भयो । सोही गीतले उहाँलाइ सबैका दिलदिलमा बास गराउन सफल भएको थियो ।   
शिला आले र राजु परियार लोकसाङ्यितिक क्षेत्रमा नाम चलेका जोडी हुन । लोकगायन क्षेत्रका बादशाह मानिने राजु परियार  र शिला आलेका नयाँ तथा पुराना सबै गीतहरु अहिले पनि सुपरहिट बनेका छन् । आज पनि दोहोरी फँटमा यत्र तत्र उनीहरुकै स्वरगुञ्जायमान हुने गर्दछन । रुप, कला र गलाकी धनी शिला आले एकपटक सैनिक कार्यक्रममा भाग लिन जाँदा एक जना पदिक सैनिकले पर्दामा देखिने कलाकार र रियल सोमा देखिने कलाकार धेरै फरक देखिने बताएका थिए रे । पर्दामा देखिएको कला र रियलमा देख्दा चिन्न नसकिएको बताउँदा शिला लाजले रातो भएको भनाई राखेकी थिइन । शिला आले नेपालको बसाइलाई बिट मार्दै  अमेरिका पुगिन तर केही समयमै अमेरिकाको बसाईलाई बिटमार्दै आफ्नै जन्मस्थान नेपाल आएकी छन् । नेपाल आए पछि आफैले निकालेको “ हिउँ चुलिमा हिउँ लोर्के जोवन भन कस्लाइ दिउँ” भन्ने झ्याउरे गीत  र तनहुँ लमजुङमा औधी रुचाइएको हालसालै मात्र गाइएका ठाडोभाका गीतहरुले अहिले चर्चाको शिखर चुमेका छन् ।

अन्त्यमा तनहुँ  लमजुङका पाखा पखेरा झ्याउरे र ठाडोभाका गीत गाउँदै काठमाण्डौ पसेकी शिला यस क्षेत्रका सफल पात्रहरु मध्ये एक हुन । ठाडोभाका लोकगीत देश विदेशमा घन्कनु पर्छ भनेर गामवेसी रोदीघर मार्फत नवप्रतिभाहरुलाई यस क्षेत्रमा लाग्न उत्प्रेरित गरिरहेका शङ्कर परियार , राजु परियार , शिवा आले र उत्तम गुरुङहरुले ठाडोभाका गीत गायनका सुत्रहरु नवप्रतिभाहरुलाई सिकाउँदै आएका छन् ।

यसरी  गीतगायन क्षेत्रका लागेका नवप्रतिभाहरुको नाम लिंनु पर्दा डुम्रेकी सुकमायां, सीमा ठकुरी, लक्ष्मी मल्ल, कल्पना जि.सी, विजय परियार लगायतका धैरै जना किशोर किशोरीहरु यस भाकामा गीत गुनगुनाउँदै आएका छन् । अहिले आएर फेरी पछिल्लो पुस्ताका व्यक्तिहरु पनि ठाडोभाका गीत गाउन उत्सुक हुँदै आएका पाएका छौं । उहाँहरुले लोकसुसेलीका भीरपाखा खनेर सम्म बनाएका लोकगीतका तरेली युक्त फाँटहरुमा नव प्रतिभाहरुले पनि संगीतका फाँटमा जम्ने सुअवसर पाउन भन्दै उहाँहरुले यस क्षेत्रमा दिएको अमूल्य योगदानलाई मुरी मुरी बधाइ ज्ञापनका साथ हृदयपूर्वक सदैव उहाँहरुको प्रशंसा गर्दछौं । -(वस्न्यात इतिहास, संस्कृति, रितिरिवाज र परम्पराका जानकार तनहुँका अध्येता तथा लेखक हुन्।)


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button