प्रहार समाचार । माघ २० शनिवार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न कसैलाई पनि छुट दिन नसकिने बताएका छन् । उनले भने ‘नेता, कर्मचारी तथा अन्य पहुँचका आधारका नाममा यो राष्ट्रमाथि कसैले पनि लुट गर्ने पाइँदैन र लुट गर्न दिइने छैन । कसैको दबाब र प्रभावमा नपरी राष्ट्रघात गर्ने माथि निर्मम तरिकाले यो र त्यो नभनि कारबाहि हुन्छ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी नै मुख्य योजनाकार रहेको विभिन्न तथ्यहरूले देखाए पछि गृहमन्त्री श्रेष्ठको यस्तो कडा अभिव्यक्ति आएको हो । यो राष्ट्र लाई दोहन गर्ने कार्य कसैलाई पनि छैन ‘।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार अहिले जग्गाको स्वामित्व जसको नाममा भए पनि यो सारा प्रकरण विनोद चौधरीकै वरिपरि घुमेको देखिएको छ । विनोदका सहोदर भाइ अरुण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजित नारायण सिंह थापा तथा चौधरी ग्रुपको पूर्व कर्मचारीसमेत रहेका सञ्जय ठाकुरलाई बिहीबार पक्राउ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यापारिक घराना चौधरी ग्रुपका सदस्य शेयर सदस्य रहेको च्याम्पियन फूटवेयरका नाममा सरकारको जग्गा हिनामिना भएको प्रमाण फेला परेको बताएको छ ।

काठमाडौंमा रहेको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरुण चौधरीलगायत ३ जनालाई पक्राउ गरेको भोलिपल्ट सीआईबीले पत्रकार सम्मेलन गरेर च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा जालसाजी गरेको पाइएको जनाएको हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयले च्याम्पियन फूटवेरलाई दिएको प्रमाणपत्रमा विनोद चौधरी, लुनकरणदास चौधरी, अरुण चौधरीलगायत ७ जना सञ्चालक थिए । सरकारी जग्गा ‘च्याम्पियन फूटवेर’को नाममा ल्याउन भूमिका खेल्ने व्यक्तिचाहिँ विनोद चौधरी थिए । कम्पनी दर्ताको प्रमाणपत्रको दोस्रो नम्बरमा विनोद चौधरीको नाम रहनुले यसलाई पुष्टि गरेको बताइन्छ ।


























