प्रहार समाचार । चितवन, माघ २ मंगलबार । त्रिशूली नदीभित्र भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पारेको छ।
बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेट BR 09GC1430 को बोलेरो जिप फेला परेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए ।

जिपभित्र मानिस फेला नपरेकाले दुर्घटनाका बखत गाडीमा मानिस थिए या थिएनन् यकिन भएको छैन। अझै खोजी कार्य जारी छ। रोकेको अवस्थामा खसेको हो या मानिससहित दुर्घटना भएको हो भन्ने खोजी हुँदैछ,’ प्रवक्ता भण्डारीले भने ।

मंगलबार बिहान इच्छाकामना–५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी पछि खोजी कार्य अन्तर्गत चितवन प्रहरीको विपद् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खटिएका छन् ।


























