प्रहार समाचार । तनहुँ, पुस २० शुक्रबार । राष्ट्रपति पौडेलले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै शिपबिना तथा आचरणबिनाको नागरिकबाट देश सम्बृद्ध हुन नसक्ने बताएका छन् ।

तनहुँको भानु नगरपालिका वडा नं.- ७ बसन्तपुरमा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिककोत्सव समारोहलाई आज शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर वृद्धि गरी सीपवान र शीलवान नागरिक बनाउनेतर्फ सबैको ध्यान जानु पर्ने बताउँदै सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शीक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले गाँउ गाँउमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरे । विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने अवस्था रहेको गुनासो पनि गरे।

राष्ट्रपति पौडेलल भने– ‘अबका दुईचार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पुर्याउन हामी लागेका छौं । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाँउमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौंतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो ? यो प्रश्न म आफैसँग गरिरहेको छु । उत्तर पनि म सँगै छ । गाऊँमा सवैथोक पुग्यो तर “सम्मानजनक रोजगारी र आम्दानी” को अवस्था बनेन ।’

राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्दै – ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो शहर पस्नुभो । उतै बस्नु भयो । गाऊँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन – मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ ।’
राष्ट्रपति पौडेलले आफूले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाडोमा उभिएर “गाऊँबाट अस्थिर भएको मनलाई गाऊँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाऊँमा नै वसौं वसौं बनाउँंछु’’ भनेको स्मरण गर्दै आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौं विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाऊँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए । राष्ट्रपति पौडेलले गाँउ गाँउमा सवै विकास र सुविधा पुगेपनि गाऊँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता गरे ।

राष्ट्रपतिमा निर्वाचित भएपछि दोश्रो पटक गृहजिल्ला तनहुँ आएका राष्ट्रपति पौडेलले आफूले बैदी – छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्ष्पट पार्दै हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अवको शिक्षा पनि यीनै विषयमा केन्द्रित हुनुपर्ने धारण राखे।
राष्ट्रपति पौडेलले अगाडी भने –‘हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ । त्यसलाई हामीले चिन्न सकेनौ । हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाई र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौं । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं , संस्कृति र प्रकृतिको कोरीबाटी गरौं, पर्यटन पूर्वाधारहरूको विकास गरि गाऊँमै रोजगारी र आम्दानी बढाऔँ।’ राष्ट्रपति पौडेलले –‘हिमालबाट उर्लेर वग्ने हाम्रा नदीनालाबाट हजारौ मेघावाट उर्जा उत्पादन गरी छिमेकमा समेत विक्री गरौं, हामी यहीबाट धनी हुन्छौ । आफ्नो परिवार तडपाएर विदेशतिर भौतारिन पर्दैन । आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैले आफैलाई चिनौं – गाऊँमुखी बनौं – नेपालमुखी बनौं, हाम्रो स्कूलमा पढाउने यही नै असली राष्ट्रवाद हो ।’ राष्ट्रपति पौडेलले भने।
























