प्रहार समाचार । सलाही, पुस २० शुक्रबार । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
गोली लागेर मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको प्रहरीले जनाएको छ ।
बरथहवा नगरपालिका मेयरको घरमा आगजनी गरेपछि शुक्रवार गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले बताए । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

‘मेयरसाबको घरमा पनि आगजनी भएको छ । ७ जना प्रहरी पनि घाइते भएका छन्,’ प्रवक्ता पञ्जियारले भने । प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर , अश्रुग्यास र गोली समेत प्रहार गरेको थियो।
























