प्रहार समाचार । काठमाडौँ, पुस १० मंगलबार । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
राजधानी काठमाडौंमा रहेको सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवका अवसरमा मङगबार क्याम्पस परिसरमा आयोजित समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने -“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतिकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ” । “ यतिबेला शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौ नेपाली युवाहरु ताँती लागेर विदेशीने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ ।”

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा उ जोड दिंदै राष्टपतिले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको बताए ।

राष्ट्रपति आफू स्वयम्ले अध्ययन गर्ने अवसर पाएको देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा निकै खुशी लागेको बताउँदै भने- “मेरा जीवनको उर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मेरो सहभागिता पनि यस क्याम्पससँग जोडिएको सन्दर्भमा म आज यहाँ उपस्थित भईरहँदा अलिकति भावुक पनि भएको छु । म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ” । राष्ट्रपति पौडेलले देशको पुरानो र अग्रणी संस्था सरस्वती बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न सरकारलाई आग्रह समेत गरे ।
























