प्रहार समाचार । तनहुँ, पुस १० मंगलबार
पृथ्वीराजमार्गमा पर्ने तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हावसमा मङ्गलबार विहान ४ ब जिप दुर्घटना हुँदा चालक सहित पाँच यात्रु घाईते भएका छन् ।
आबुखैरेनीबाट मुग्लिङ जादै गरेको बा १७ च ७९६० नं.को बोलेरो जीप सडकबाट करीव १५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक सहित जीपमा सवार यात्रुहरु मध्ये ५ जना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए। घाईतेहरुको ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरी टोली र कालिभन्जन गण(ई) सुरक्षा पोष्ट तनहुँबाट खटिएको नेपाली सेना समेतको संयुक्त टोलीले उद्दार गरिएको थियो।

घाईते चार जनाको आँबुखैरेनी अस्प्तालमा उपचार भईरहेको र एक जनाको थप उपचारको लागि पुरानो मेडिकल भरतपुर, चितवनमा पठाईएको छ। कैलाली जिल्लाको गोदाबारी न.पा.–३ बस्ने वर्ष ३० को खगेन्द्रराज पनेरुलाई चितवन पठाईएको छ ।आँबुखैरनी अस्पतालमा उपचार हुनेहरुमा जीप चालक कैलालीको धनगढी नगरपालिका –४ बस्ने वर्ष २७ को दयाराम राना, सुर्खेत बिरेन्द्र नगरपालिका–६ बस्ने वर्ष २८ को थानेश्वर भट्टराई सोही नगरपालिकाको वडा नं. ९ बस्ने वर्ष २८ को निबस खत्री, दार्चुलाको महाकाली नगरपालिका– ५ बस्ने वर्ष २४ को राकेश भट्ट छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
























