प्रहार समाचार । चितवन, पुस ४ बुधबार ।
जिल्ला प्रहरी कार्यालय चितवनले भारतबाट ल्याइएको ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
प्रहरीले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन्
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई भरतपुर महानगरपालिका–१ स्थित आँपटारीबाट पक्राउ गरिएको हो । उनीहरूले भारतीय नं प्लेटको जेएच ०२ डब्लु ९६३१ नंको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बनाई लुकाई–छिपाई मुग्लिनबाट नारायणगढतर्फ ल्याउँदै गरेका थिए ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनीहरूलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।




















