प्रहार समाचार । काठमाडौँ, मंसिर २ शनिबार ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० लगत्तै ‘भ्वाइस अफ ग्लोबल साउथ’ समिटको दोस्रो शृंखला भव्यतासाथ आयोजना गरेका छन्। शुक्रबार दिनभर भर्चुअल माध्यममा चलेको समिटमा ल्याटिन अमेरिका, क्यारिबियन, अफ्रिका, प्यासिफिक आइल्यान्ड, एसियालगायतबाट १ सय २३ देश सहभागी थिए।
यो बहुत ठूलो सन्देश हो। यसले यो सन्देश दिएको छ कि– ग्लोबल साउथ आफ्नै स्वायत्तता चाहन्छ। विश्व शासनमा अग्रसरता चाहन्छ। विश्वकै मामलामा बढ्ता जिम्मेवारी लिन तयार छ’, समिटको समापन समारोहमा प्रधानमन्त्री मोदीले भने, ‘भारतलाई गर्व छ, हामीले जी २० को फोरममा ग्लोबल साउथको एजेन्डा राख्ने मौका पायौं। र, त्यसलाई तुरुन्तकार्यान्वयन गर्यौं। मलाई विश्वास छ, जुन आवाज जी २० मा बुलन्द भयो, त्यो आगामी विश्वमञ्चमा गुञ्जिइरहने छ।’
समिटमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले कोभिड महामारी, जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको बताए। भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त संकटबाट खाद्यान्न, स्वास्थ्य–शिक्षा, अर्थतन्त्र, वातावरण र शान्ति–सुरक्षामा प्रभाव पारेको उल्लेख गरे।
ग्लोबल साउथले गरिबी उन्मूलन र स्वस्थ जीवन निर्वाहमा टेवा पुर्याउनुपर्ने उनको भनाइ थियो।
















