हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच  भेटवार्ता

प्रहार समाचार । क्यालिफोर्निया, कार्तिक ३० बिहिबार ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित ऐतिहासिक फिलोली इस्टेटमा महत्वपूर्ण भेटवार्ता भएको छ।एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका अवसरमा दुई देशका राष्ट्रप्रमुखबीच भएको यो वार्तालापबाट विगत केही महिनादेखि चलिरहेको तनाव कम हुने भएकाले महत्वपूर्ण मानिएको छ।

यस शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति बाइडेनले करिब २० मिनेटसम्म चलेको पत्रकार सम्मेलनमा धेरै कुरा भनेका थिए।उनले अमेरिका र चीनबीचको सैन्य सञ्चार पुनः सुचारु हुने बताए। उनले आफू र सी चिनफिङले थप प्रत्यक्ष सञ्चारलाई कायम राख्ने बताए।अमेरिकामा फेन्टानिल उत्पादनको प्रवाहलाई समाधान गर्न दुवै देशले पहल सुरु गरेको पनि बताए।

भेटमा युक्रेन र पश्चिम एसियामा जारी युद्धका बारेमा पनि छलफल भएको थियो। बाइडेनले यी मुद्दाहरूमा उठेका प्रश्नहरूको जवाफ दिएका छन्।जो बाइडेनले दुई देशबीचको ‘प्रतिस्पर्धा’ ‘द्वन्द्वमा परिणत हुन नदिन दुई देशबीचको यो सम्मेलनको सुरुवात गरेका जनाए।उनले भने, ‘म यो वार्तालापको कदर गर्छु किनभने मलाई लाग्छ कि तपाई र मैले एकअर्कालाई असमझदारी बिना राम्रोसँग बुझ्नु सबैभन्दा महत्त्वपूर्ण छ।’

सी जिनपिङले एकअर्कालाई पिठ्युँ फर्काउनुको विकल्प नभएको बताए। फेब्रुअरीमा अमेरिकामा एउटा शंकास्पद चिनियाँ बेलुन खसालेपछि यी दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो। अमेरिकाले यो जासुसी बेलुन भएको दाबी गरेको छ।दक्षिण चीन सागरमा सैन्य गतिविधि, इजरायल-हमास युद्ध, ताइवान, युक्रेन युद्ध र अमेरिकी चुनावमा चीनको कथित हस्तक्षेप जस्ता धेरै विषयमा दुई देशबीच गहिरो मतभेद छ। बीबीसी


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button