हेडलाईनसमाचारगण्डकीविजनेस

लमजुङका व्यवसायीलाई आयकर र भ्याटबारे अभिमुखीकरण

• विजय अधिकारी (संवाददाता) लमजुङ, ६ मंसिर २०८३ आइतबार । लमजुङका उद्योगी तथा व्यवसायीलाई आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनी व्यवस्था, कर विवरण पेस गर्ने प्रक्रिया र दायित्वबारे जानकारी गराउन एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

लमजुङ उद्योग वाणिज्य संघको आयोजना तथा चितवन उद्योग वाणिज्य संघको सहयोगमा भएको कार्यक्रममा व्यवसाय सञ्चालन गर्दा कर कानुनको पालना, पारदर्शी कारोबार र व्यवस्थित लेखा प्रणाली अपनाउनुपर्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले करसम्बन्धी अज्ञानता व्यवसायीका लागि समस्या बन्न सक्ने बताए। उनले प्रचलित कर कानुनबारे जानकारी राख्दै सही लेखा प्रणाली अपनाउन व्यवसायीलाई आग्रह गरे। जीआईजेडका आर्थिक सल्लाहकार नवीनराज श्रेष्ठले आयकर तथा भ्याटसम्बन्धी व्यवस्था, कर विवरण पेस गर्ने प्रक्रिया, करदाताका दायित्व र व्यवसाय सञ्चालनका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रस्तुतीकरण दिएका थिए। कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी र लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेश थापाले पनि करसम्बन्धी व्यावहारिक ज्ञान व्यवसायीका लागि अपरिहार्य रहेको धारणा राखेका थिए।

व्यवसायीले कर तिर्ने दायित्व पूरा गर्नु मात्र पर्याप्त छैन, कर प्रणाली बुझेर कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनु पनि उत्तिकै आवश्यक छ। करसम्बन्धी अन्योल, प्रक्रियागत कमजोरी र कानुनी अनभिज्ञताका कारण व्यवसायीले भोग्नुपर्ने सम्भावित झन्झट न्यूनीकरण गर्ने अपेक्षासहित अभिमुखीकरण आयोजना गरिएको हो। लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन महासचिव विपिन श्रेष्ठले गरेका थिए।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button