प्रहार समाचार । काठमाडौँ, १० कात्तिक २०८३ मंगलबार । बंगालको खाडीमा विकसित भइरहेको ‘अरनब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा कार्तिक १३ र १४ गते देखिन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ।मौसमको चेतावनीलाई बेवास्ता गरे जोखिम गम्भीर बन्न सक्ने देखिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले अनावश्यक यात्रा नगर्न, विशेषगरी जोखिमयुक्त क्षेत्रमा आवतजावत रोक्न र नदी तथा खोलाका किनारमा नबस्न आग्रह गरिएको छ।
विपद्को जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान तथा मौसम पूर्वानुमान र आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउनुपर्नेमा जोड दिइएको छ।सम्भावित विपद् रोक्न नसकिए पनि सतर्कताबाट क्षति न्यूनीकरण गर्न सकिन्छ। चक्रवातको सम्भावित प्रभावलाई सामान्य ठानेर लापरबाही नगर्न र सरकारी निकायका पूर्वसूचनालाई गम्भीरतापूर्वक लिन आवश्यक छ। मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।











