• विजय अधिकारी (संवाददाता) लमजुङ, १० कात्तिक २०८३ मंगलबार । लमजुङको क्व्होलासोथार गाउँपालिका–९, गिलुङस्थित साल्मेभञ्ज्याङ स्वास्थ्य चौकीले जटिल प्रसूति अवस्थाबाट गुज्रिरहेकी एक सुत्केरी आमा र नवजात शिशुको ज्यान बचाएको छ।

दसैँ बिदाको अन्तिम दिन, साँझ करिब ७ बजे लामो प्रसव व्यथा र अवरोधयुक्त प्रसवको समस्या लिएर स्वास्थ्य चौकी पुगेकी महिलाको अवस्था गम्भीर थियो। बच्चा जन्माउन कठिन भएपछि आमा र शिशु दुवैको जीवन जोखिममा परेको अवस्थामा स्वास्थ्यकर्मीले तत्काल उपचार प्रक्रिया अघि बढाएका थिए।

डा. सागर थापाको नेतृत्वमा स्वास्थ्यकर्मीले आवश्यक प्रसूति प्रक्रिया अपनाउँदै इपिसियोटोमी गरेपछि करिब ३ हजार ४ सय ग्राम तौलको शिशुको जन्म भयो। तर, जन्मिएलगत्तै शिशुको घाँटीमा नाभिनाल बेरिएको र सामान्य रूपमा सास फेर्न नसकेको अर्को गम्भीर समस्या देखियो। स्वास्थ्यकर्मीले तत्काल नवजात पुनर्जीवन प्रक्रिया सुरु गरेपछि शिशुले सामान्य रूपमा सास फेर्न थाल्यो। स्वास्थ्य चौकी प्रमुख सन्तोष सुवेदीका अनुसार समयमै गरिएको उपचार र स्वास्थ्यकर्मीको सक्रियताले आमा र नवजात शिशुको सुरक्षित व्यवस्थापन सम्भव भएको हो। उनले जटिल अवस्थाको व्यवस्थापनमा खटिएका डा. थापा र नर्सिङ स्टाफ शान्ता भण्डारीप्रति धन्यवाद व्यक्त गरेका छन्।

चाडपर्वको बिदा, रातको समय र दुर्गम भूगोलका चुनौतीबीच पनि स्वास्थ्यकर्मीले देखाएको तत्परताले स्वास्थ्य सेवा भवन र उपकरणमा मात्र होइन, संकटका बेला जीवन बचाउन सक्ने जनशक्ति र क्षमतामा पनि बलियो हुनुपर्छ भन्ने सन्देश दिएको छ। एकातिर सामान्य उपचारका लागि समेत दुर्गम क्षेत्रका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था छ भने अर्कोतिर यस्तै आपत्कालीन समयमा स्वास्थ्यकर्मीको जिम्मेवारी र समर्पणले अमूल्य जीवन जोगाउन सकिन्छ भन्ने यो घटना उदाहरण बनेको छ। नवजात शिशुको आगमनसँगै खुसी फर्किएको परिवारलाई बधाई दिँदै स्वास्थ्य चौकीले आमा र शिशुको सुस्वास्थ्यको कामना गरेको छ।

























